कलैया : भाद्र महिनाको शुक्लपक्षको पञ्चमीका दिन मनाईने ऋषिपञ्चमी पर्व बाराका हिन्दुधर्मावलम्बी महिलाहरुले बिहीबार मनाएका छन्। उनीहरुले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी यो पर्व मनाएका हुन्।
जिल्लाको कलैया उपमहानगरपालिका, जितपुर सिमरा उपमहानगरपालिका, निजगढ नगरपालिका,कोल्हवी नगरपालिका, सिम्रौनगढ नगरपालिका, पचरौता नगरपालिका, महागढीमाई नगरपालिका हिन्दुधर्मावलम्बी महिलाहरुले यो पर्व मनाएका हुन्।
यसैगरी जिल्लाको करैयामाई गाउँपालिका, बारागढी गाउँपालिका, आदर्शकोतवाल गाउँपालिका, सुवर्ण गाउँपालिका, देवताल गाउँपालिका, फेटागाउँपालिका, प्रसौनी गाउँपालिका र परवानीपुर गाउँपालिकामा ऋषिपञ्चमी पर्व मनाईएको छ।
बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई महिलाहरुले स्नान गरेकाछन्। अरुणन्धती सहित सप्तऋषि कश्यप, अत्री, भारद्वाज, वशिष्ठ, जमदग्नी, गौतम र विश्वामित्रको पूजा आराधना गरी तीज व्रत समापन गर्ने प्रचलन छ।
रजस्वला भइसकेका नारीहरूले भविष्य पुराणका अनुसार ब्रह्म हत्याको पापमुक्ति तथा रजस्वला भएका अवस्थामा जानी नजानी भए गरेका पापजन्य कार्यबाट मुक्ति मिलोस् भन्नाका लागि सप्तऋषिको पूजा गर्ने प्रचलन रहेको छ।

