जीतपुर : एलपी ग्यासको सुरक्षित प्रयोग र आगलागी नियन्त्रणसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६ पिलुवामा एकदिने तालिम कार्यक्रम सम्पन्न भएको छ।
पिलुवास्थित ग्यास वान नेपाल प्रा.लि.को आयोजनामा सम्पन्न कार्यक्रममा काठमाडौंको स्टार सेफ्टी सर्भिस प्रा.लि.ले प्राविधिक सहयोग गरेको थियो। कार्यक्रममा ग्यास प्रयोग गर्दा ध्यान दिनुपर्ने सुरक्षा मापदण्ड, सिलिन्डरको संरचना तथा सम्भावित जोखिमबाट बच्ने उपायबारे जानकारी दिइएको थियो।
विशेषगरी ग्यास चुहावट वा आगलागीको अवस्था सिर्जना हुँदा अपनाउनुपर्ने सावधानीका उपायहरू व्यवहारिक अभ्यासमार्फत प्रदर्शन गरिएको थियो। प्रशिक्षकहरूले आगो नियन्त्रण गर्ने तरिका, जोखिम न्यूनीकरण तथा आपतकालीन अवस्थामा अपनाउनुपर्ने सुरक्षात्मक उपायबारे सहभागीलाई प्रशिक्षण दिएका थिए।
कार्यक्रममा बोल्दै वडा नं. १६ का अध्यक्ष हरिदेव खरेलले उद्योगद्वारा आयोजित यस्ता सचेतनामूलक कार्यक्रमले स्थानीय तहमा दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण योगदान पु¥याउने बताए। उनले जनस्तरसम्म ग्यास सुरक्षासम्बन्धी ज्ञान विस्तार गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याए।
उद्योगका प्रबन्धक सरोज ढकालको सञ्चालनमा सम्पन्न कार्यक्रममा सहभागीहरूले तालिम व्यवहारिक र उपयोगी रहेको प्रतिक्रिया दिएका थिए।
कार्यक्रमकै अवसरमा लक्की ड्रमार्फत ६ जना सहभागीलाई ग्यास सिलिन्डरसहित उपहार प्रदान गरिएको थियो। ग्यास वान नेपाल प्रा.लि.का प्रबन्ध निर्देशक हिडेकि फुकुईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सशस्त्र प्रहरी, स्थानीय विद्यार्थी, उपभोक्ता तथा उद्योगका कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा स्वागत मन्तव्य राजकुमार गुरुङले व्यक्त गरेका थिए भने शिक्षाविद् राधेश्याम शिवाकोटी, सशस्त्र प्रहरी निरीक्षक कृष्ण पौडेल र युवा व्यवसायी रुपेश न्यौपानेलगायतको सहभागिता रहेको थियो।

