जीतपुर । मधेश प्रदेशमा नम्बर प्लेट बिना तथा अस्पष्ट नम्बर प्लेट प्रयोग गरी सवारी चलाउने चालकहरू अब ट्राफिक प्रहरीको निगरानीमा परेका छन् । बारा लगायत प्रदेशका विभिन्न जिल्लामा ट्राफिक प्रहरीले विशेष अभियान सञ्चालन गर्दै यस्ता सवारी साधनमाथि कडाइ सुरु गरेको हो ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाको समन्वयमा सञ्चालन गरिएको अभियानअन्तर्गत राजमार्ग, मुख्य चोक तथा व्यस्त बजार क्षेत्रमा सवारी चेकजाँचलाई तीव्र बनाइएको छ । प्रहरीले नम्बर प्लेट नराखिएका, मेटिएका, धुलोले ढाकिएका वा जानाजानी अस्पष्ट बनाइएका सवारी साधनलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही थालेको जनाएको छ ।
ट्राफिक प्रहरीका अनुसार पछिल्लो समय नम्बर प्लेट नदेखिने गरी सवारी सञ्चालन गर्ने प्रवृत्ति बढ्दै गएको छ । यसले दुर्घटना, चोरी तथा आपराधिक घटनामा संलग्न सवारीको पहिचान गर्न कठिन हुने भएकाले सुरक्षा चुनौती थपिएको प्रहरीको भनाइ छ ।
विशेष गरी मोटरसाइकल तथा केही चारपाङ्ग्रे सवारीमा नम्बर प्लेटलाई स्टिकर, रंग वा अन्य सामग्री प्रयोग गरेर अस्पष्ट बनाउने क्रम बढेको पाइएको छ । यस्ता गतिविधिले ट्राफिक नियमको उल्लंघन मात्र नभई सार्वजनिक सुरक्षामाथि पनि असर पार्ने ट्राफिक प्रहरीको ठहर छ ।
अभियानका क्रममा चालकहरूलाई सवारीको अगाडि र पछाडि दुवै भागमा स्पष्ट नम्बर प्लेट राख्न, तोकिएको मापदण्डअनुसार प्लेट प्रयोग गर्न तथा ट्राफिक नियमको पालना गर्न सचेत गराइएको छ । ट्राफिक प्रहरीले सुरक्षित र व्यवस्थित सडक व्यवस्थापनका लागि अभियानलाई निरन्तर सञ्चालन गरिने जनाएको छ ।


