विद्यार्थीको स्वास्थ्यसँग खेलवाडपछि कारबाही प्रक्रिया सुरु : दिवा खाजामा म्याद गुज्रेको मसला र शौचालयमा फोहोर भेटिएपछि प्रधानाध्यापकसँग स्पष्टीकरण

साझेदारी डेलि
200 पाठक संख्या

कलैया । बाराको कलैया उपमहानगरपालिका–५ घुसुकपुरस्थित श्री पन्ना देवी माध्यमिक विद्यालयमा दिवा खाजा कार्यक्रम र सरसफाइ व्यवस्थापनमा गम्भीर लापरबाही भेटिएपछि विद्यालयका प्रधानाध्यापक नरेन्द्र कुमार गिरिसँग २४ घण्टाभित्र लिखित स्पष्टीकरण मागिएको छ।

बुधबार जेनजी युथ अफ बाराले कलैया उपमहानगरपालिकाको शिक्षा शाखाको समन्वयमा गरेको अनुगमनका क्रममा विद्यार्थीलाई उपलब्ध गराइने दिवा खाजामा प्रयोगका लागि राखिएको ‘भिक्ट्री’ ब्रान्डको धुलो खुर्सानी चार महिनाअघि नै म्याद समाप्त भएको अवस्थामा भेटिएको थियो। अनुगमन टोलीले विद्यालयको शौचालय अत्यन्त फोहोर रहेको, नियमित सरसफाइ नभएकाले त्यहाँ किरा चलिरहेको तथा पानीको समेत उचित व्यवस्था नरहेको अवस्था औँल्याएको थियो।

अनुगमन प्रतिवेदनका आधारमा शिक्षा शाखाले तत्काल प्रधानाध्यापक गिरिलाई २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो। शिक्षा शाखाका प्रमुख राजीवकुमार यादवका अनुसार प्राप्त जवाफको अध्ययनपछि प्रचलित कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइनेछ।

प्रमुख यादवले विद्यालयको शौचालय सुधार र सरसफाइका विषयमा पटक–पटक निर्देशन तथा ताकेता गरिए पनि विद्यालय प्रशासनले बेवास्ता गरेको आरोप लगाए। विद्यालय व्यवस्थापन समिति गठन नभएको बहाना बनाउँदै आधारभूत प्रशासनिक तथा सरसफाइसम्बन्धी कामसमेत नगर्नु जिम्मेवारीबाट पन्छिनु भएको उनको भनाइ छ।

उनले शौचालयको नियमित सरसफाइ र फोहोर व्यवस्थापन विद्यालय प्रशासनकै दायित्व भएकाले त्यसका लागि विद्यालय व्यवस्थापन समिति अनिवार्य नहुने स्पष्ट पारे। यस्ता कमजोरीले विद्यार्थीको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने भएकाले शिक्षा शाखाले विषयलाई गम्भीर रूपमा लिएको उनले बताए।

यादवले आर्थिक वर्षको अन्त्यतिर अनुगमन कम हुने अवस्थाको दुरुपयोग गरी लापरबाही नगर्न उपमहानगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई सचेतसमेत गराएका छन्। यस्ता घटना दोहोरिए कानुनबमोजिम कडा कारबाही गरिने उनको चेतावनी छ । जेनजी युथ अफ बाराले बुधबार गरेको अनुगमनको विस्तृत प्रतिवेदन शिक्षा शाखामा बुझाइसकेको पनि प्रमुख यादवले जानकारी दिए।

यसअघि विद्यालयका प्रधानाध्यापक गिरिले ईसीडीदेखि कक्षा ५ सम्म अध्ययनरत १८४ विद्यार्थीका लागि सञ्चालित दिवा खाजा कार्यक्रममा प्रयोगका लागि राखिएको धुलो खुर्सानीको म्याद सकिएको स्वीकार गर्दै आगामी दिनमा यस्तो त्रुटि दोहोरिन नदिने प्रतिबद्धता जनाएका थिए।

स्थानीयका अनुसार करिब २३ बिघा खेतीयोग्य जग्गा र ११ वटा व्यावसायिक सटरबाट उल्लेख्य आम्दानी गर्ने यो विद्यालयमा आधारभूत सरसफाइ र खाद्य सामग्रीको गुणस्तरमा देखिएको लापरबाहीले विद्यालय व्यवस्थापनप्रति थप प्रश्न खडा गरेको छ।

Leave a review

This will close in 0 seconds