सुजित मेमोरियल टी–२० को पहिलो सेमिफाइनलमा कलैया वडा नं. १२ विजयी

साझेदारी डेलि
364 पाठक संख्या

कलैया । बाराको कलैया उपमहानगरपालिका–१४ भौरास्थित खेल मैदानमा जारी स्वर्गीय युवा नेता सुजित पाण्डेको स्मृतिमा आयोजित सुजित मेमोरियल टी–२० क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा कलैया उपमहानगरपालिका वडा नम्बर १२ विजयी भएको छ । यो जितसँगै वडा नम्बर १२ ले फाइनल खेलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

बिहीबार भएको खेलमा वडा नम्बर १२ ले वडा नम्बर ४ लाई २ विकेटले पराजित गर्दै जित हासिल गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको वडा नम्बर ४ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३७ रन बनाएको थियो । वडा नम्बर ४ का लागि प्रियंश साहनीले सर्वाधिक ४५ रन बनाए भने राहुल साहले २१ र विकास सिंहले १८ रनको योगदान दिए ।

१३८ रनको लक्ष्य पछ्याएको वडा नम्बर १२ ले १७ ओभरमा ८ विकेट गुमाउँदै १४२ रन बनाएर जित दर्ता गर्‍यो । वडा नम्बर १२ का लागि हरेराम यादवले ३०, रोशन यादवले २४ तथा ओमप्रकाश यादवले अविजित २० रन बनाए ।

खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ३० रन बनाएका हरेराम यादव म्यान अफ द म्याच घोषित भएका छन् । उनलाई माओवादी पार्टी बाराका युवा नेता मुकेश साहले पुरस्कार वितरण गरेका हुन् ।

आयोजक समितिका अध्यक्ष रमेश ठाकुरका अनुसार प्रतियोगिताको विजेता टोलीले नगद १५ हजार रुपैयाँसहित ट्रफी र मेडल तथा उपविजेता टोलीले नगद १० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् ।

शुक्रबार हुने दोस्रो सेमिफाइनल खेल दिउँसो १२ बजेदेखि कलैया उपमहानगरपालिका वडा नम्बर ६ र वडा नम्बर ७ बीच हुनेछ ।

Leave a review