गणेश नेपालीको निधनप्रति कलैयामा दीप प्रज्वलन,घटनाको निष्पक्ष अनुसन्धान गर्न युवाहरुको माग

साझेदारी डेलि
73 पाठक संख्या

कलैया । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह गरेका मुगुका युवा गणेश नेपालीको उपचारका क्रममा निधन भएपछि बाराको सदरमुकाम कलैयामा दीप प्रज्वलन गरिएको छ। स्थानीय युवा तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले दिवंगत नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका हुन्।

शुक्रबार साँझ भरत चोकमा आयोजित कार्यक्रममा सहभागीहरूले हातमा दीप बोकेर मौन श्रद्धाञ्जली अर्पण गरेका थिए। उनीहरूले नेपालीको मृत्यु दुःखद भएको उल्लेख गर्दै घटनाका सम्पूर्ण पक्षको निष्पक्ष अनुसन्धान गरी दोषी देखिने जो–कोहीलाई कानुनी दायरामा ल्याउनुपर्ने माग राखे। साथै, सार्वजनिक सेवा प्रवाहका क्रममा नागरिकले यस्ता पीडादायी अवस्था भोग्न नपरोस् भन्ने सुनिश्चित गर्न राज्यले प्रभावकारी सुधारका कदम चाल्नुपर्ने धारणा पनि व्यक्त गरिएको थियो।

कार्यक्रममा बारा निर्वाचन क्षेत्र नं. ३ (ख) का पूर्व प्रदेशसभा सदस्य पारस साह, जनमत पार्टी बाराका जिल्ला इन्चार्ज शिवनाथ पटेल, जसपा नेपाल बाराका जिल्ला सचिव शम्भु गुप्ता, मुकेश साह, सुजित पाण्डे, सागर पटेल, सदाम अन्सारी, रञ्जित चौरसियालगायत स्थानीय युवा, सामाजिक अगुवा तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।

मुगुको सोरु गाउँपालिका–१ निवासी २५ वर्षीय गणेश नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसर बाहिर आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका थिए। प्रारम्भिक जानकारीअनुसार पार्किङ क्षेत्रमा राखिएको उनको मोटरसाइकलमा काठमाडौं महानगरपालिकाका नगर प्रहरीले ह्वील लक लगाएपछि उत्पन्न विवादको क्रममा उनले उक्त कदम चालेका थिए।

आत्मदाहबाट उनको शरीरको करिब ६० प्रतिशत भाग जलेको थियो। गम्भीर घाइते अवस्थामा वीर अस्पतालमा उपचार भइरहेको क्रममा उनको निधन भएको हो।

Leave a review

This will close in 0 seconds