गोप्य भिडियो काण्ड : एक हवल्दारसहित थप चार प्रहरीमाथि विभागीय कारबाही

साझेदारी डेलि
220 पाठक संख्या

कलैया । तीन बर्षिय बालिका गरिमा चौधरी हत्या प्रकरणको अनुसन्धानसँग जोडिएको संवेदनशील भिडियो प्रहरीकै माध्यमबाट सार्वजनिक भएपछि घटनाको छानबिनमा थप प्रहरी कर्मचारी तानिएका छन्। भिडियो बाहिरिनुको जिम्मेवारी र त्यसमा संलग्न व्यक्तिको पहिचान गर्न थालेको अनुसन्धानले एक हवल्दारलाई फौजदारी मुद्दामा हिरासतमा पुर्‍याएको छ भने थप चार प्रहरीमाथि विभागीय कारबाही अघि बढेको छ।

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले भिडियो प्रकरणमा संलग्नताको आशंकामा चार प्रहरी कर्मचारीसँग बयान लिइसकिएको जानकारी दिए। उनीहरूको भूमिकाबारे थप अनुसन्धान भइरहेकाले नाम र दर्जा तत्काल सार्वजनिक नगरिएको प्रहरीको भनाइ छ।

स्वास्थ्य परीक्षणका क्रममा कलैया अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्रमा चिकित्सकले अभियुक्त किशोरसँग लिइरहेको जानकारी मोबाइलबाट रेकर्ड गरिएको थियो। सोही सामग्री प्रहरी हवल्दार कुमार विकले बाहिर पठाएको प्रारम्भिक अनुसन्धानबाट खुलेपछि उनलाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार विकले भिडियो जापानमा रहेका आफ्ना एक साथीलाई पठाएका थिए। त्यसपछि भिडियो अन्यत्र फैलिएको देखिएपछि अनुसन्धानकर्ताले डिजिटल माध्यमबाट भिडियोको प्रसार र त्यसमा संलग्न व्यक्तिहरूको भूमिका पहिल्याउन थालेका छन्।

‘हवल्दार विकविरुद्ध फौजदारी अनुसन्धान अघि बढेको छ। अन्य चार जनामाथि विभागीय कारबाहीको प्रक्रिया सुरु गरिएको छ,’ एसएसपी ढकालले भने, ‘घटनामा उनीहरूको भूमिका र जिम्मेवारीबारे थप अनुसन्धान भइरहेको छ।’

प्रहरीले भिडियोको प्राविधिक परीक्षण गरिरहेको जनाएको छ। अनुसन्धानका क्रममा सम्बन्धित प्रहरी कर्मचारीको बयान लिनुका साथै भिडियो कुन माध्यमबाट कसकहाँ पुगेको थियो भन्ने पक्षसमेत हेरिएको छ।

पक्राउ परेका विक यसअघि पर्सा जिल्ला प्रहरी कार्यालयअन्तर्गत वीरगन्जको महिला तथा बालबालिका सेवा केन्द्रमा लामो समय काजमा कार्यरत थिए। केही साताअघि मात्रै उनी आफ्नो दरबन्दी रहेको जिल्ला प्रहरी कार्यालयमा फर्किएका थिए। अभियुक्त किशोरलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लैजाने क्रममा उनी प्रहरी टोलीसँगै गएका थिए।

Leave a review