टाङियाबस्तीका युवालाई वडा कार्यालयद्वारा खेलकुद सामग्री सहयोग

रञ्जन यादव
27 पाठक संख्या

जीतपुर । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६ टाङियाबस्तीमा युवालाई खेलकुदतर्फ आकर्षित गर्दै स्थानीय प्रतिभा पहिचान र विकास गर्ने अभियान अघि बढाइएको छ। यसैक्रममा वडा कार्यालयले ओजेल युवा क्लबलाई विभिन्न खेलकुद सामग्री उपलब्ध गराएको छ।

वडा स्तरीय बजेटबाट खरिद गरिएका सामग्री मंगलबार आयोजित कार्यक्रममा वडाध्यक्ष हरिदेव खरेलले क्लबका अध्यक्ष दुतराज बोम्जनलाई हस्तान्तरण गर्नुभयो। क्लबलाई फुटबल, खेलाडीका लागि जुत्ता तथा मोजा, जर्सी सेट र ट्रयाकसुटलगायत सामग्री प्रदान गरिएको हो।

सामग्री हस्तान्तरणपछि वडाध्यक्ष खरेलले खेलकुदलाई केवल मनोरञ्जनको माध्यमका रूपमा सीमित नगरी युवाको शारीरिक स्वास्थ्य, मानसिक विकास र अनुशासनसँग जोडेर अघि बढाउनुपर्ने बताउनुभयो। टोलस्तरबाटै खेल प्रतिभाको खोजी गरी स्थानीय खेलाडी उत्पादन गर्ने उद्देश्यले वडाले खेलकुद क्षेत्रमा लगानी बढाउँदै गएको उहाँको भनाइ छ।

वडाध्यक्ष खरेलका अनुसार वडा क्षेत्रका अन्य टोलमा पनि खेलकुद सामग्रीको आवश्यकता पहिचान गरी सहयोग उपलब्ध गराउने प्रक्रिया अघि बढिरहेको छ। विशेषगरी युवालाई सकारात्मक र सिर्जनात्मक गतिविधिमा जोड्न खेलकुदलाई प्रभावकारी माध्यमका रूपमा अघि बढाउने योजना रहेको उहाँले बताउनुभयो।

खेल सामग्री पाएपछि ओजेल युवा क्लबका अध्यक्ष बोम्जनले खेलाडीको नियमित अभ्यास तथा विभिन्न प्रतियोगितामा सहभागिता जनाउन सहज हुने बताउनुभयो। वडाको सहयोगले खेलाडीको मनोबल बढाउनुका साथै स्थानीयस्तरमै प्रतिस्पर्धी टोली निर्माण गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो।

कार्यक्रममा उपमहानगरपालिकाकी कार्यपालिका सदस्य पवित्रा माया कार्की, वडा सदस्य प्रेमबहादुर गोले, स्थानीय बासिन्दा तथा क्लबका पदाधिकारीको सहभागिता थियो।

वडा कार्यालयले टोल–टोलमा खेलकुदको पहुँच विस्तार गर्दै युवालाई नियमित अभ्यास र प्रतियोगितामा सहभागी गराउने योजनालाई निरन्तरता दिने जनाएको छ।

Leave a review