जिल्ला प्रशासन कार्यालय पर्साद्वारा आवश्यक सतर्कता अपनाउन आग्रह

साझेदारी डेलि
70 पाठक संख्या

कलैया । जिल्ला प्रशासन कार्यालय पर्साले अगामी हुने वर्षाको सन्दर्भमा आवश्यकता सतर्कता अपनाउन आग्रह गरेको छ। जिल्ला पर्सा प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले बुधबार एक प्रेस विज्ञप्ति जारी गरी नागरिकलाई सतर्कता अपनाउन भनेका हुन्।

नेपाल मौसम विज्ञान विभागद्वारा मंगलबार जारी विशेष मौसम समाचार बुलेटिन अनुसार आगामी असोज ९ गते शुक्रबार देखि असोज ११ गते आइतबार सम्म देशका केही स्थानमा मेघगर्जन/चट्याङ / हावाहुरी सहित भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको विज्ञप्तिमा जनाइएको छ।

विभागका अनुसार उत्तर अन्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र हाल बङ्गालको खाडीको मध्य भू–भाग आसपासमा रहेको छ र उक्त प्रणाली थप शक्तिशाली बन्दै बलियो न्यून चापीय क्षेत्र तिर सर्ने देखिन्छ र यसको प्रभावले बुधबार देखि नै मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मध्यम सम्मको वर्षाको सम्भावना समेत रहेको विज्ञप्तिमा उल्लेख छ।

भारीदेखि धेरै भारी वर्षाका कारण बाढी, पहिरो आउने शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम हुने भएकाले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारीका लागि निम्न कार्य गर्न/गराउनु हुन सम्बन्धित सबैमा विज्ञप्तिमा अनुरोध गरिएको छ।

उक्त अवधिमा अत्यन्त जरुरी नभई टाढा र रातको समयमा यात्रा नगर्न सूचनामा भनिएको छ। सो समयावधिमा जिल्लामा रहेका साना तथा ठुला खोला नदीहरूको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले उच्च सतर्कता अपनाउन सूचनामा भनिएको छ।

आकस्मिक बाढी आउनसक्ने खोला, खहरेका नजिकका बस्ती, पहिरोको जोखिमयुक्त स्थान र खोला/नदी किनारका बस्तीका बासिन्दाहरू बढी चनाखो हुन सो सूचनामा भनिएको छ।

वर्षा र बाढीबारे जानकारी लिन ११५५ मा सम्पर्क गर्न तथा, विपद्मा मद्दत माग्न १२३४, नेपाल प्रहरीको हटलाइन १०० र सशस्त्र प्रहरी बल, नेपालको हटलाइन नम्बर १७१४ मा सम्पर्क गर्न समेत सूचनामा सुझाव दिइएको छ।

नेपाल मौसम विज्ञान विभाग र प्राधिकरणबाट जारी हुने अध्यावधिक पूर्वानुमान/पूर्वसूचना/चेतावनी सम्बन्धी जानकारी लिइरहनु हुन समेत अनुरोध गरिएको छ।

Leave a review