‘पहिला बुथ कब्जा हुन्थ्यो, अहिले दिमाग कब्जा हुन थालेको छ’ : प्रचण्ड

रञ्जन यादव
40 पाठक संख्या

जीतपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जाल र मोबाइलमार्फत प्रवाह भइरहेका सामग्रीले नागरिकको सोच प्रभावित पार्ने अवस्था देखिएको बताएका छन्।

बाराको कलैयामा आयोजित पार्टी एकता तथा प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले राजनीतिक प्रभाव विस्तारको स्वरूप परिवर्तन भएको टिप्पणी गर्दै अहिले मानिसको विचार र धारणामाथि प्रभाव पार्ने प्रयास भइरहेको बताए।
‘पहिला–पहिला बुथ कब्जा हुन्थ्यो, अहिले मानिसको दिमाग कब्जा हुन थालेको छ,’ उनले भने।

सामाजिक सञ्जालमा बिहानदेखि बेलुकासम्म आउने नकारात्मक सामग्रीले जनताको धारणा प्रभावित पारिरहेको उनको भनाइ थियो। पुराना सबै राजनीतिक दल खराब र नयाँ सबै राम्रो भन्ने भाष्य निर्माण गर्ने प्रयास भइरहेको उल्लेख गर्दै प्रचण्डले राजनीतिक दल र तिनको योगदानको मूल्यांकन तथ्यका आधारमा हुनुपर्ने बताए।

मधेशले नेपालको राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै उनले मधेशबाट उठेका राजनीतिक तथा सामाजिक मुद्दा राष्ट्रिय राजनीतिका एजेन्डा बन्ने गरेको बताए। विगतका राजनीतिक परिवर्तन, नेतृत्वको योगदान तथा विकास निर्माणका कामलाई पछिल्ला घटनाक्रमका आधारमा मात्रै मूल्यांकन गर्न नहुने उनको धारणा थियो।

पछिल्लो राजनीतिक घटनाक्रमको चर्चा गर्दै प्रचण्डले ‘जेनजी’ आन्दोलनपछि संविधानको संरक्षण गर्न आफूहरू सफल भएको दाबी गरे। वर्तमान संसदमा महिला, अपाङ्गता भएका व्यक्ति, मधेशी, जनजातिलगायत विभिन्न समुदायको प्रतिनिधित्व हुनु राजनीतिक परिवर्तन र संविधानबाट प्राप्त उपलब्धिको परिणाम भएको उनले बताए।

प्रचण्डले मधेशसहित देशका विभिन्न क्षेत्रका जनताले बालेन्द्र साहप्रति ठूलो अपेक्षा राखेको पनि बताए। मधेशका जनताले उनलाई ‘मधेशको बेटा’ प्रधानमन्त्री बन्ने अपेक्षासहित समर्थन गरेको उल्लेख गर्दै प्रधानमन्त्री बनेपछि मधेशका हित र अधिकारका सवालमा अपेक्षाविपरीत काम भइरहेको आरोप उनले लगाए।

कार्यक्रममा नेकपाका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टी संख्यात्मक रूपमा सानो भए पनि विचारका हिसाबले बलियो रहेको बताए। आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै संगठन विस्तार, जनसम्बन्ध र पार्टीको नीति तथा विचारलाई जनस्तरसम्म पु¥याउन नेता–कार्यकर्तालाई सक्रिय हुन उनले आग्रह गरे।

नेपालले विगतका सरकार तथा प्रधानमन्त्रीका पालामा भएका उपलब्धिको समेत मूल्यांकन गर्नुपर्ने बताए। मानिसको औसत आयु वृद्धि, सडक तथा पूर्वाधार विकासलगायत क्षेत्रमा भएका कामलाई बिर्सन नहुने उनको भनाइ थियो।

बारा जिल्ला संयोजक गिता कडेँलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका मधेश प्रदेश इन्चार्ज महेन्द्र राय यादव, मधेशी मोर्चाका अध्यक्ष मातृका यादवलगायत केन्द्रीय तथा स्थानीय नेताहरूले पार्टी एकतालाई संगठनको तहसम्म कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए। आगामी निर्वाचनलाई लक्षित गर्दै गाउँ–गाउँमा संगठन विस्तार र गतिविधि तीव्र बनाउने प्रतिबद्धता उनीहरूले जनाएका थिए।

Leave a review