बारा । चेक अनादर मुद्दामा बाराको प्रसौनी गाउँपालिका वडा नम्बर–६ का वडा अध्यक्ष बृजकिशोर कुशवाहा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले प्रसौनी -६ घर भई हाल कलैया उपमहानगरपालिका -२३ मा बस्ने कुशवाहालाई बुधबार कलैयाबाट पक्राउ गरेको हो।
बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) मीनबहादुर घलेका अनुसार बारा जिल्ला अदालतको २०८३ कात्तिक १३ गतेको आदेशानुसार कुशवाहालाई पक्राउ गरिएको हो।
कलैया उपमहानगरपालिका–२३ निवासी जगदम्बा ट्रेड कन्सर्नका प्रोप्राइटर अनिलकुमार पटेलले कुशवाहाविरुद्ध दर्ता गराएको चेक अनादरसम्बन्धी मुद्दामा वादीको बिगो दाखिला गराउनका लागि उनलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन प्रहरीलाई पत्राचार गरिएको थियो।
अदालतको सोही आदेश र पत्रका आधारमा पक्राउ परेका वडा अध्यक्ष कुशवाहालाई आवश्यक प्रक्रियाका लागि अदालतमा उपस्थित गराइने प्रवक्ता घलेले जानकारी दिए ।



