बारामा करेन्ट लागेर एक जनाको मृत्यु

साझेदारी डेलि
329 पाठक संख्या

कलैया । बारामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कलैया उपमहानगरपालिका–११ घोगरहिया निवासी द्वारिका प्रसाद जयसवालका २५ वर्षीय छोरा राजु जयसवाल रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेका अनुसार सोमबार दिउँसो महागढीमाई नगरपालिका–३ गञ्जभवानीपुर निवासी मोहन साह कलवारको निर्माणाधीन घरमा वेल्डिङको काम गरिरहेका जयसवाललाई अचानक करेन्ट लागेको थियो।

करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया ल्याइएको थियो। अस्पतालमा चिकित्सकले ईसीजी परीक्षण गर्दा उनलाई मृत घोषणा गरेका थिए।

घटनाबारे जानकारी पाएपछि प्रहरी चौकी गञ्जभवानीपुरबाट प्रहरी नायब निरीक्षक बहादुर प्रसाद यादवको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनाको थप अनुसन्धान तथा आवश्यक मुचुल्काका लागि जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक विमल खतिवडाको कमाण्डमा सोकोसहितको टोलीसमेत खटिएको प्रवक्ता घलेले जानकारी दिएका छन्।

प्रवक्ता घलेका अनुसार पोस्टमार्टमपछि मृतकका दाइ रिकेश जयसवालले शव बुझेर लगेका छन्।

Leave a review