खेस्रौलमा मकै उत्पादन बढाउन सहकारीको अनुदान कार्यक्रम

रञ्जन यादव
114 पाठक संख्या

जीतपुर । मकै खेतीलाई व्यावसायिक र उत्पादनमुखी बनाउने लक्ष्यसहित बाराको जीतपुरसिमरा उपमहानगरपालिका–११ खेस्रौलमा कृषकलाई अनुदानमा उन्नत जातको बिउ उपलब्ध गराउनुका साथै आधुनिक प्रविधिबाट खेती गर्ने तरिकासमेत सिकाइएको छ।

श्री सीपमूलक कृषि सहकारी संस्था लिमिटेडले करिब एक सय कृषकलाई ५० प्रतिशत अनुदानमा ९९९९ जातको मकैको बिउ वितरण गरेको हो। कृषि उत्पादन बढाउने र खेतीको लागत घटाउने उद्देश्यले सहकारीले अनुदान कार्यक्रम सञ्चालन गरेको जनाएको छ।

बिउ वितरणसँगै कृषकलाई आधुनिक कृषि उपकरणको प्रयोगबारे व्यावहारिक जानकारी दिइएको थियो। कार्यक्रममा मकै रोप्ने मेसिनको नमुना प्रदर्शन गरी बिउ रोप्ने विधि र त्यसबाट प्राप्त हुने लाभबारे जानकारी गराइएको थियो।

परम्परागत खेती प्रणालीमा लाग्ने श्रम र समय घटाउँदै कम अवधिमा बढी क्षेत्रफलमा खेती गर्न सकिने भएकाले यान्त्रिक प्रविधिको प्रयोग आवश्यक रहेको कार्यक्रममा जोड दिइएको थियो।

सहकारीका अध्यक्ष सन्तोष यादवले कृषकलाई उत्पादन वृद्धि गर्न प्रोत्साहित गर्नुका साथै आधुनिक कृषि प्रणालीसँग जोड्ने उद्देश्यले बिउ वितरण र प्रविधि प्रदर्शनलाई एकैसाथ अघि बढाइएको जानकारी दिए।

जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारीले अनुदानमा बिउ उपलब्ध गराउने र खेती गर्ने आधुनिक विधिबारे जानकारी दिने कार्यक्रमले स्थानीय कृषकलाई व्यावसायिक मकै खेतीतर्फ आकर्षित गर्ने विश्वास व्यक्त गरे।

Leave a review