बारा । छठ पर्वलाई स्वच्छ, सुरक्षित तथा व्यवस्थित वातावरणमा मनाउने उद्देश्यले सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हे.क्वा. बाराको पहलमा सिम्रौनगढ नगरपालिका–६ स्थित बजार क्षेत्रको छठघाटमा सरसफाइ कार्यक्रम सञ्चालन गरिएको छ।
छठ पर्वको अवसरमा नदी, पोखरी तथा जलाशयका किनारमा रहेका छठघाटलाई सफा, स्वच्छ र व्यवस्थित बनाउने उद्देश्यले सशस्त्र प्रहरी कर्मचारीहरू सरसफाइमा खटिएका हुन्।
कार्यक्रमअन्तर्गत सशस्त्र प्रहरी कर्मचारीहरूले स्थानीयवासी तथा सरोकारवालाहरूसँगको समन्वयमा छठघाट परिसरमा रहेका फोहोरमैला, प्लास्टिकजन्य पदार्थ तथा अन्य अवाञ्छित वस्तुहरू संकलन गरी सरसफाइ गरेका थिए।
धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको छठ पर्वलाई स्वच्छ र मर्यादित वातावरणमा सम्पन्न गराउन तथा समुदायमा सरसफाइ र वातावरण संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि गर्न कार्यक्रमले सहयोग पुग्ने विश्वास लिइएको छ।
सशस्त्र प्रहरी बल, नेपालले शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारीसँगै सामाजिक उत्तरदायित्व र समुदायसँगको सहकार्यलाई प्राथमिकता दिँदै विभिन्न जनहितकारी गतिविधिहरू सञ्चालन गर्दै आएको छ।



