कोरोना संक्रमित बालकको मृत्यु : निजगढमा उच्च सतर्कता,मृतकको शव व्यवस्थापन

साझेदारी दैनिक
साझेदारी दैनिक 414 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

नवराज चौलागाईं/
कोरोना संक्रमणका कारण निजगढ नगरपालिका वडा नम्बर ६ माथिल्लो योजनाका एक बालकको मृत्यु भएपछी निजगढ नगरपालिकाले सतर्कता अपनाएको छ । नगरपालिकाले शनिबार बिज्ञप्ति जारि गर्दै औषधि पसल बाहेक सम्पूर्ण व्यवसाय,यातायातका साधन,कार्यालय संचालनमा बन्देज गरेको छ ।

नगरपालिकाका मेयर सुरेश कुमार खनालले बिज्ञप्ति जारि गर्नुहुदै नगरपालिकाले शंकास्पद क्षेत्रमा परिक्षणको क्रम अगाडी बढाईसकिएको बताउनुभयो । अनाश्यक घर बाहिर ननिस्कीन मेयर खनालले आग्रह गर्नुभएको छ । कोरोना भाईरस नियन्त्रण गर्न नगरपालिकाले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको टोली परिचालित गरि आवश्यक चेकजाँचका कार्यहरु अगाडी बढाईएको मेयर खनालले बताउनु भएको छ ।

निमोनियाका कारण ग्रसित निजगढ नगरपालिका वडा नम्बर ६ माथिल्लो योजनाका ५ वर्षीय बालकलाई शुक्रबार निजगढ देउरालीपथ स्थित निजगढ सामुदायिक अस्पतालमा सामान्य उपचार पश्चात बीरगंजको बिरगंज हेल्थ कियर अस्पतालमा लागिएको थियो । उपचारको क्रममा आरडिटि रिपोर्ट पोजेटिभ देखिएको बालकको स्वाब संकलन गरि नारायणी अस्पतालमा पिसिआर परिक्षणका लागि लगिएको थियो ।

पिसिआर परिक्षणको क्रममा मृतक बालकको कोरोना पोजेटिभ पुष्टि भएको थियो । मृतक बालकको टोल छिमेक र नजिकको सम्पर्कमा आएकाहरुलाई नगरपालिकाले सेल्फ अईसोलेट गरेको छ । मृतक बालकको उपचार गराईएको निजगढ सामुदायिक अस्पताल शिल गरिएको छ ।

मृतक बालकको शव व्यवस्थापन
कोरोना संक्रमणका कारण मृत्यु भएका बालकको शव शनिबार व्यवस्थापन गरिएको छ । बालकको शव वडा नम्बर ६ स्थित जनहित सामुदायिक वन क्षेत्रमा व्यवस्थापन गरिएको हो । शवलाई निजगढ नगरपालिका,प्रहरी र स्वास्थ्यकर्मीको सहयोगमा नेपाली सेनाको टोलीले व्यवस्थापन गरेको हो । शव व्यवस्थापनको क्रममा मृतक बालकको बुवा,आमा र हजुरबुवालाई मात्रै सेनाले सहभागी गराएको थियो ।

समाचार शेयर गर्नुहोस
Leave a review