रञ्जन यादव/
बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुर स्थित जीतपुर स्वास्थ्य चौँकीमा प्रसुती सेवा केन्द्र निर्माणको शिलान्यास भएको छ । प्रसुती सेवा केन्द्रको शिलान्यास जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले आज गर्नुभएका छ । सुर्य नेपाल प्रा.लि.को आर्थिक सहयोगमा १५ सय स्कवायर फिटमा सुबिधा सम्पन्न भरयाङ्ग सहितको ४ कोठ्ठे भवन र एक वटा सौचालय सहितको बाथरुम निर्माण हुने उद्योगका प्रतिनिधि यज्ञबहादुर आलेले जानकारी दिनुभयो ।
जीतपुरसिमरा उपमहानगरपालिकामा सबभन्दा बढी प्रसुती हुने स्वास्थ्य चौँकीमा जीतपुर स्वास्थ्य चौँकी पर्ने गर्दछ । यहाँ हरेक महिना करिब ६० देखि ७० जनाको हराहारीमा प्रसुती महिलाहरुले बच्चा जन्माउँने गर्दछन् । एक करोडको लागतमा निर्माण हुने अनुमान गरिएको प्रसुती सेवा केन्द्र दुई महिना भित्रै निर्माण गरिने लक्ष्य राखिएको छ ।
भवन अभावमा स्वास्थ्य उपचार र प्रसुती एउटैँ ठाउँमा गर्नुपर्ने बाध्यताले बिरामी र स्वास्थ्यकर्मीहरुले बाध्यता खेप्दै आएका छन् । बर्थिङ सेन्टरको भवनमा सेवा प्रवाह गर्न असहज भएपछि जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले बर्थिङ सेन्टर भवन निर्माण गरिदिनका लागि सुर्य नेपालसंग आग्रह गरेको थियो । संघको आग्रहपछि सुर्य नेपालले उपमहानगरपालिकासंग समन्वय गरेर भवन निर्माणको प्रक्रिया अघि बढाएको हो ।
भवन शिलान्यास कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाकाको नगरउप प्रमुख भोला अधिकारी, प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोखरेल, सुर्य नेपालका उद्योग व्यवस्थापक सुरेशकाजी श्रेष्ठ, कमर्सियल मेनेजर उमेश थापा, मानव तथा संसाधन विभागका सरविन श्रेष्ठ, नगर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष मोहन शर्मा, निवर्तमान अध्यक्ष संजय साह, जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ का वडाध्यक्ष सुनिल गुप्ता, ईन्जिनियर निरज मिश्र , एमाले नेता देवनारायण चौधरी गायतको उपस्थिती रहेको थियो ।

