हिन्दुधर्मालम्वीहरुले मनाए रक्षाबन्धन, जनैपूर्णिमा र ऋषितर्पणी पर्व

साझेदारी दैनिक
साझेदारी दैनिक 427 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

हिन्दुधर्मालम्वीहरुले श्रावण शुक्लपूर्णिमाका दिनमा मनाइने रक्षाबन्धन, जनैपूर्णिमा र ऋषितर्पणी पर्व समोवार देशभर हर्सोल्लासका साथ मनाएका छन ।

बाराका विभिन्न स्थानहरुमा हिन्दुहरुले सोमवार रक्षाबन्धन (डोरो) बाँधेर र स्नान गरी नयाँ यज्ञोपवीत (जनै) धारण गरेर जनैपुर्णिमा मनाइएको छ ।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी ‘जेले गर्दा अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित वन, विचलित नहोऊ’ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा यो पर्व मनाउने धार्मिक किम्बदन्ती छ ।

नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाईलाई राखी बाँधेर मनाइएको छ । यसबाट दिदीबहिनी र दाजुभाईका बीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।

यसैगरी रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको छ ।

यसै दिनका दिन एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारी क्वाँटी बनाएर खाने गरिन्छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक मान्यता छ ।

जिल्लाको १६ वटै स्थानीयह तहहरुमा पनि यो पर्व मनाईएको छ । तर यसबर्ष लामो समयदेखी विकराल रुपमा रहेको कोरोना महामारी भएकाले गतबर्षहरु झै यसवर्ष यो पर्व उल्लासमय भने भएन । कोरोना संक्रमणका कारण जिल्लाका मुख्य बजारहरुलाई निषेधाज्ञा लगाईएको कारण मानिसहरुको चहलपह शुन्य झै रहयो ।

समाचार शेयर गर्नुहोस
Leave a review