सुनसरीमा दुई लाख भन्दा बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ

रासस
29 पाठक संख्या

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१७ स्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले आज इटहरी–१७ का शेलिस शेर्पाको घरबाट उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले जुवा खालबाट एक बुङ तास र नगद रु दुई लाख ३१ हजार १७० बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा धादिङ ज्वालामुखी गाउँपालिका–२ का २७ वर्षीय नारायण श्रेष्ठ, सुनसरीको रामधुनी नगरपालिका–१ का ३६ वर्षीय प्रेम विक, सोही ठाउँका ४७ वर्षीय गौरीशङ्कर लुइँटेल, ४२ वर्षीय महेशलाल धामी र इटहरी उपमहानगरपालिका–१७ का ४३ वर्षीय लोकबन्धु कार्की रहेका छन् ।

पक्राउ परेका पाँचै जनालाई इलाका प्रहरी कार्यालय पकलीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Leave a review