राजावादीहरुको आवाज मत्थर पार्न कार्यकारी राष्ट्रपतिको प्रस्ताव

साझेदारी दैनिक
307 पाठक संख्या

नेपाल राष्ट्रवादी राजनीतिक मञ्चले राजवादी शक्तिहरुको गणतन्त्र विरुद्धमा आएको राजतन्त्र पुनःस्थापनाको आवाजलाई मत्थर गर्न आवश्यक रहेको जनाएको छ ।

यसको लागि उसले कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्नुपर्ने माग अगाडी सारेको छ ।

संवाद डबलीमा यस सम्बन्धमा शनिबार पत्रकार सम्मेलन गरिएको थियो । गणतान्त्रिक व्यवस्था भनिए पनि विदेशीले खेल्न सक्ने संसदीय व्यवस्थाको कारण प्रतिगामीशक्तिहरुले टाउको उठाउन थालेको वक्ताहरुले पत्रकार सम्मेलनमा आरोप लगाएका हुन् ।

मञ्चका संयोजक टी.एस. तामाङले पत्रकार सम्मेलनमा बोल्दै हजारौंको बलिदानबाट प्राप्त अहिलेको गणतान्त्रिक व्यवस्था आएको जनाए । यो व्यवस्था माथि प्रश्न उठ्नुको मुख्य दोषी मुख्यदलहरुले नै भएको उनले आरोप लगाए ।

पछिल्लो समयमा दुर्गा प्रसाई लगायतका व्यक्तिहरुले जनजीविकाको मुद्धाको फेरोमा असान्दर्भिक राजतन्त्रको पुनःस्थापनाको आवाज गलत भएको उनले पत्रकार सम्मेलनमा बताए ।

प्रसाईले उठाएका राजतन्त्रको मुद्धा बाहेकका जनपक्षीय मुद्धामा आफूहरुको ऐक्यबद्धता रहेको समेत जानकारी तामाङ्गले दिए । प्रसाईको संघर्षमा सरकारी दमन गलत भएको उनले भने ।

संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्य–मान्यता विपरित प्रशासनको प्रसाईमाथि धरपकड र आन्दोलनमाथिको हस्तक्षेप निन्दनीय छ उनले भने ।

यस्ता काम तत्काल रोकियोस् । गत अक्टोबरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भूमि कालापानी, लिपुलेक लगायत भूमिमा गरेको भ्रमणलाई हस्तक्षेपकारी भूमिकाको संज्ञा दिदै तामाङ्गले विरोध गरेका छन् । सरकार त लाचार भयो भयो,त्यसमाथि नागरिक स्तर कतैबाट पनि प्रतिक्रिया नआउनु दुःखद विषय हो उनले भने ।

वर्तमान सरकारले नक्कली भूटानी प्रकरण,लतितानिवास,सुन लगायतका विभिन्न प्रकरणहरुलाई सत्ता टिकाउन बार्गेनिङको अस्त्र बनाएको आरोप लगाए । उनले नागरिक खबरदारी जरुरी रहेको बताए ।

मञ्चका प्रमुख संरक्षक तेज पुडासैनीले गणतन्त्रको लागि लड्नेहरुले नै अहिले सोही व्यवस्थाको चुनौतिका कारक भएको उनले जनाए । उनीहरु विरुद्ध नयाँ अभियान सुरु गरेको उनले बताए ।

सो पत्रकार सम्मेलनमा केन्द्रीय संयोजन समितिका सदस्यहरु दानबहादुर विष्ट,किरण थापा मगर,सिद्धान्त थापामगर र शुस्मा राना मगर लगायतले अगामी समयमा आफूहरुले नेपालको राजनितिक समस्यालाई निकास दिन लड्नु पर्ने धारणा राखे ।

Leave a review