पाँच लाख घुससहित पक्राउ परेका वडाअध्यक्ष कार्की भए पदमुक्त

रञ्जन यादव
255 पाठक संख्या

सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा पक्राउँ परेका जीतपुरसिमरा उपमहानगर वडा नं ३ का वडाध्यक्ष ताराबहादुर कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदमुक्त गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय काठमाडौँले वडाध्यक्ष कार्की पदमुक्त भएको विषयमा उपमहानगरलाई जानकारी गराएको हो । अख्तियारले अति गोप्य पत्र मार्फत जानकारी गराएको हो ।

कार्कीलाई घर बाटो सिफारिसको लागि स्थानीय राजन उप्रेतीसँग ५ लाख नगद रकम लिँदै गरेको अवस्थामा अख्तियारको हेटौँडाको टोलीले नियन्त्रणमा लिएको हो । जीतपुरस्थित जैसवाल होटेलबाट उनलाई नियन्त्रणमा लिएको थियो ।

आयोगले कार्कीलाई सोमबार नगद रकम सहित नियन्त्रणमा लिएर सोही केन्द्रीय कार्यालय काठमाडौँ पठाएको हो । सोही दिनदेखि लागु हुने गरी आयोगले वडाध्यक्ष कार्कीलाई पदमुक्त गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाले भने कार्कीको मुद्दामा अनुसन्धान तथा अभियोजन लगायतको सम्पूर्ण काम केन्द्रीय कार्यालय टंगालबाट हुने भएकाले सबै फाइल पठाइसकेको जनाएको छ ।

‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १६ (४) बमोजिम पुष २ गतेबाटै लागु हुने गरी विशेष अदालत काठमाडौँबाट म्याद थप भई आएको र यसरी थुनामा रहेका व्यक्ती सार्वजनिक पद धारण गरेका राष्ट्रसेवक भए आयोगको ऐन २०४८ को दफा १७ तथा भष्टचार निवारण ऐन २०५९ को दफा ३३ बमोजिम स्वतः निलम्बन रहने कानुनी व्यवस्था रहेको जानकारी गराईन्छ’ आयोगले उपमहानगरलाई पठाएको पत्रमा उल्लेख ।

कार्की वडाध्यक्ष पदबाट निलम्बन भएपछि स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११६ अनुसार वडाध्यक्षको पद कुनै कारणले रिक्त भएमा वडा समितिका सदस्यहरूले आफूहरू मध्येबाट छनोट गरेको सदस्यले कार्यवाहक वडाध्यक्ष भई काम गर्नेछ भनी उल्लेख छ। साथै कुनै वडाको निर्वाचन नभएको अवस्थामा कार्यपालिकाले कुनै कर्मचारीलाई वडाध्यक्षको कार्य गर्ने गरी तोक्न सक्ने व्यवस्था छ ।

कार्यवाहक वडाध्यक्षका लागि सम्बन्धित वडा सस्य र कार्यपालिका बैठकबाट निर्णय हुन नसकेको अवस्थामा भने कार्यवाहक वडाध्यक्ष तोक्ने अन्तिम अधिकार नगरप्रमुखमा रहने कानुनी व्यवस्था छ ।

Leave a review

This will close in 0 seconds