जिल्ला प्रशासन कार्यालय बारामा कार्यरत प्रमुख जिल्ला अधिकारी परिवर्तन भएको छ ।
बारामा प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाको सरुवा भएसंगै प्रजिअ परिवर्तन हुने भएको हो ।
बिगत ११ महिना देखि जिल्लाको शान्ति सुरक्षाको जिम्मेवारी सम्हाल्दै आउनु भएका प्रजिअ सापकोटाको गृहमन्त्रालय वा गृह मन्त्रालय अन्तर्गतमा सरुवा भएको छ ।
गृह मन्त्रालयले दुई जिल्लाहरुको प्रमुख जिल्ला अधिकारी सरुवा गरेसंगै बाराका सापकोटाको पनि सरुवा भएको छ ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्रीस्तरको निर्णयनुसार मन्त्रालयले बारा र लमजुङ्गका प्रमुख जिल्ला अधिकारीलाई मन्त्रालयमा सरुवा भएको हो ।
बाराबाट सरुवा भएका सापकोटाको स्थानमा गृहमन्त्रालयले गृहमन्त्रालयमा कार्यरत सह–सचिव शशिधर घिमिरेलाई पठाउने भएको छ ।
प्रजिअ सापकोटाको बाराको बसाई एक बर्ष पुग्नै लाग्दा उनको सरुवा भएको छ । प्रजिअ सापकोटा २०७९ माघ २८ गते जिल्ला प्रशासन कार्यालय बारामा हाजिर भएका थिए ।
बारामा भएको उपनिर्वाचन शान्ति पुर्ण र भयरहित वातावरणमा गराउन प्रमुख जिल्ला अधिकारी सापकोटा सफल भएका छन् ।
त्यस्तै जिल्लाको शान्ति सुरक्षा लगायतका क्षेत्रमा प्राथमिकता दिई सेवा प्रदान गरेको,सामुदायिक प्रहरी सेवा केन्द्रको कार्यक्रममा गरिएको सहयोग,सिमा नाका र वन जङ्गलमा अतिक्रमण भएको जग्गाहरुको निरीक्षण लगायतमा प्रजिअ सापकोटाको ठुलो भुमिका रहेको छ ।
त्यसैगरी पञ्चवर्षीय श्री कॉटवासीमाई मेलालाई विवादित हुनबाट बचाउन र मेला लगाउन खेलेको भुमिका पनि एतिहासिक रहेको छ ।
गृहमन्त्रालयले बारा र लमजुङ्गका दुई प्रमुख जिल्ला अधिकारीहरुलाई मन्त्रालयमा तानेर उनीहरुको ठाउमा मन्त्रालयका दुई जनालाई नै प्रमुख जिल्ला अधिकारी बनाएर पठाउने भएको छ ।
जस अनुसार बारामा घिमिरेलाई र लमजुङ्गमा उपसचिव उमाकान्त अधिकारीलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर पठाउने भएको छ ।

