जीतपुरसिमरा उपमहानगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको ‘नमूना रोजगार कार्यक्रम’ बिषयक अन्तरक्रिया कार्यक्रम शुक्रवार जीतपुरमा सम्पन्न भएको छ ।
उपमहानगरपालिका स्थित रोजगार सेवा केन्द्रको स्तर उन्नती गरी नमुना रोजगार सेवा केन्द्र निर्माणको लागि अन्तरक्रिया कार्यक्रम भएको हो ।
अन्तराष्ट्रिय श्रम संगठनको सहयोग तथा एक्सन फर डेभल्पमेन्टको समन्वय र जीतपु्सिमरा उपमहानगरपालिका कार्यालयको आयोजनामा उपमहानगरपालिकाको सभा हलमा उक्त कार्यक्रम भएको थियो ।
एन्वल वर्क प्लान डेभल्पमेन्ट अन्तर्गत भएको अन्तरक्रिया कार्यक्रममा रोजगार सेवा केन्द्रको अवधारणा,संरचना तथा आवश्यक्ता बिषयक छलफल भएको रोजगार सहजकर्ता अमृता घिमिरे जानकारी दिईन् । नगरले नमूना कार्यक्रम अन्र्तगत प्रारम्भिक चरणमा अन्तरक्रिया कार्यक्रम गरेको हो ।
सरकारले सात सय ५३ स्थानीय तहमध्ये १३ वटा स्थानीय तहलाई पहिलो चरणमा नमूना रोजगार कार्यक्रम अन्तर्गत छनोट गरेको छ । जसमा मधेश प्रदेशमा जीतपुरसिमरा उपमहानगरपालिका,वीरगंज महानगरपालिका र जनकपुरधाम उपमहानगरपालिका परेका छन् ।
बेरोजगार तथा रोजगारदाताको तथ्याङ्क अद्यावधिक गरी जनप्रतिनिधि र कर्मचारी तथा सरोकारवालासँग अन्तरक्रिया एवं निजी क्षेत्र तथा सरोकारवालासँग अन्तरक्रिया लगायत तालिमका कार्यहरू गरिने जनाएको छ ।
सरकारले पाँच वर्षअघि नै देशका सबै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरी बेरोजगारको तथ्याङ्क सङ्कलनसँगै रोजगारी व्यवस्थापन थाल्ने निर्णय गरेको थियो ।
रोजगार सेवा केन्द्र स्थापनापछि केन्द्रबाट बेरोजगारको विवरण सङ्कलन गर्ने,अभिमुखीकरण लगायतका तालिम सञ्चालन गर्ने, स्थानीय स्तरमा रोजगारी सृर्जना गर्ने र सरकारलाई आवश्यक जनशक्ति केन्द्रबाट उपलब्ध गराउने योजना बनाइएको छ ।
कार्यक्रमबाट आगामी केही समयभित्रै न्यूनतम रोजगारीको प्रत्याभूतिका अतिरिक्त नागरिकले आफ्नो थाकथलोमै सबै प्रकृतिको श्रम तथा रोजगारमूलक सेवा प्राप्त गर्ने एवं संविधानले परिकल्पना गरेझैँ स्वदेशमै रोजगारी,मुलुकको विकासमा प्रत्यक्ष योगदान,सामाजिक संरक्षणको प्रत्याभूति र व्यावसायिक र दक्ष जनशक्तिको विकास गर्ने अपेक्षा लिइएको छ ।
त्यस्तै श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एकीकृत श्रम तथा रोजगार सेवा (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि २०८० स्वीकृति गरी कार्यान्वयनमा ल्याएको छ ।
नागरिकलाई व्यावसायिक सीप विकास,रोजगार प्रवर्द्धन,उत्पादनशिल रोजगार सिर्जना,उद्यमशीलता प्रवर्द्धन,वैदेशिक रोजगारीको लागि श्रम स्वीकृतिमा सहजीकरण लगायतका श्रम तथा रोजगार सम्बन्धी सेवा तथा सुविधा स्थानीय तहबाटै एकीकृत रूपमा प्रदान गर्न मन्त्रालयले उक्त कार्यविधि ल्याएको उपमहानगरपालिकाको रोजगार सेवा केन्द्र प्रमुख महम्मद नसिम गणिले जानकारी दिए ।
उक्त कार्यविधि अनुसार स्थानीय तहमा रहेको रोजगार सेवा केन्द्र मार्फत श्रम बजार सम्बद्ध सूचनाको सङ्कलन तथा विश्लेषण गर्ने, आन्तरिक रोजगार प्रवर्द्धन,सीप र क्षमताको अन्तर विश्लेषण गरी रोजगार उन्मुख सीप प्रदान गर्न संयोजन तथा सञ्चालन,वैदेशिक रोजगारलाई सुरक्षित,मर्यादित र व्यवस्थित गर्न आवश्यक सहजीकरण तथा परामर्शका लागि सहज हुनेछ ।
त्यस्तै वैदेशिक रोजगारबाट फर्केका श्रमिकको सामाजिक र आर्थिक पुनः एकीकरण,स्वरोजगारका लागि उद्यमशीलता विकास तथा व्यावसायिक योजना निर्माणमा सहयोग,श्रम र रोजगार सम्बन्धी सूचना प्रणाली सञ्चालन गर्ने लगायतका एकीकृत श्रम तथा रोजगार सम्बन्धी क्रियाकलापहरू स्थानीय तहको माग र आवश्यकता अनुसार सञ्चालन गरिने जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ ।
कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाको उपप्रमुख भोला प्रसाद अधिकारी,रोजगार सहजकर्ता तुलसी रिजाल लगायत उपमहानगरपालिकाको बिभिन्न शाखाका प्रमुखहरुको सहभागिता रहेको थियो ।

