कलैया । बाराको सदरमुकाम कलैयास्थित भरतचोक घण्टाघर परिसरमा सर्वसाधारणलाई लक्षित गर्दै सार्वजनिक वाटर कुलर सञ्चालनमा ल्याइएको छ। जेनजी एण्ड युथ अफ बाराको पहल तथा लक्ष्मी सनराइज बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रममार्फत उक्त सुविधा स्थापना गरिएको हो।
बिहीबार आयोजित कार्यक्रममा जडान गरिएको वाटर कुलर कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशमलाल कडेललाई औपचारिक रूपमा हस्तान्तरण गरिएको जनाइएको छ।
कार्यक्रममा जेनजी एण्ड युथ अफ बाराका अध्यक्ष सौरभ पाण्डेले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सहयोग गरेकोमा लक्ष्मी सनराइज बैंकप्रति आभार व्यक्त गरे। उनले बढ्दो गर्मीका समयमा भरतचोकबाट आवतजावत गर्ने नागरिकलाई स्वच्छ र चिसो पिउने पानी उपलब्ध गराउन वाटर कुलर उपयोगी हुने विश्वास व्यक्त गरे।
पाण्डेले सार्वजनिक हितका यस्ता सहकार्यले स्थानीय समुदायको सुविधा विस्तारमा सकारात्मक योगदान पुग्ने उल्लेख गर्दै उपकरणको संरक्षण तथा जिम्मेवारीपूर्वक प्रयोग गर्न सबैसँग आग्रह गरेका छन्।


