विभिन्न मुद्दामा फरार रहेका चार जना प्रतिवादीलाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका मातहत तथा प्रहरी ईकाइ कार्यालय समेतबाट खटेको प्रहरी टोलीले जिल्ला अदालत बाराबाट दोषी ठहर भई लुकिछिपि बसेको अवस्थामा खोजतलास गरी उनीहरुलाई पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय निजगढबाट खटेको प्रहरीले गाली बेईजती मुद्दामा अदालतबाट दुई सय रुपैयाँ जरिवाना पाएका बाराको निजगढ नगरपालिका वडा नम्बर ९ बस्ने बिष्णु श्रेष्ठलाई पक्राउ गरेको छ ।
त्यस्तै ईलाका प्रहरी कार्यालय प्रसौनीबाट खटेको प्रहरीले लागू औषध मुद्दामा अदालतबाट १ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना पाएका जिल्लाको कलैया उप–महानगरपालिका वडा नम्बर २१ बस्ने अन्दाजी ३० वर्षीय बिल्टु महरा चमारलाई पक्राउ गरी प्रहरीले अदालतमा दाखेल गरेको छ ।
त्यसैगरी प्रहरीले नेपाली नागरिकता उद्योग मुद्दामा अदालतबाट १ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना पाएका जिल्लाको प्रसौनी गाँउपालिका वडा नम्बर १ प्रसौनी बस्ने अन्दाजी ४५ वर्षीय नावेद आलम मंसुरलाई पक्राउ गरेको छ ।
अस्थाई प्रहरी पोष्ट रतनपुरबाट खटेको प्रहरीले लागु औषध गाँजा मुद्दामा जिल्लाको निजगढ नगरपालिका वडा नम्बर १२ बस्ने अन्दाजी ४३ वर्षीय सुर्य बहादुर घलानलाई पक्राउ गरेको छ ।
बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।

