पर्सा जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको छ ।वीरगञ्जमा बिहीबार एक कार्यक्रमकाबीच पर्सालाई मधेश प्रदेशको पाँचौ पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको हो ।
स्वास्थ्य कार्यालय पर्साले वीरगञ्जमा आयोजना गरेको कार्यक्रममा यस्तो घोषणा गरिएको हो । स्वास्थ्य कार्यालय पर्साका प्रमुख मुक्तिनारायण साहले पूर्ण खोपयुक्त जिल्ला घोषणा गरेका थिए ।
उनले स्थानीय तह,स्वास्थ्यकर्मी,खोप कार्यकर्ताहरु,स्वास्थ्य स्वयम्सेविकाहरुको अथक प्रयासले पर्सा जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला बनाउन सफल भएको बताए ।पर्सा बाहेक मधेसका अहिले पनि रौतहट,महोतरी र धनुषा गरी तीन वटा जिल्ला पूर्ण खोपयुक्त जिल्ला घोषणा हुन सकेको छैन ।
देशभरिमा रहेका ७७ मध्ये मधेसका तीन र नुवाकोट गरी अब चार वटा जिल्ला मात्रै पूर्ण खोपयुक्त जिल्ला घोषणा हुन बाँकी छ ।
यी चार वटा जिल्ला पनि पूर्ण खोपयुक्त घोषणा भए देश नै पूर्णयुक्त घोषणा हुन्छ ।जिल्ला खोप समन्वय समिति पर्साका अध्यक्ष निरन्जन साह सोनारको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो ।
पूर्ण खोपयुक्त घोषणा कार्यक्रममा परिवार कल्याण महाशाखा काठमाण्डौंका प्रमुख जन स्वास्थ्य अधिकृत सञ्जय महासेठ लगायत खोप कार्यकर्ता,पर्सा जिल्लाका स्थानीय तहका स्वास्थ्यकर्मी लगायतको सहभागिता थियो ।

