मोटरसाइकल चोरी गर्ने दुई युवक पक्राउ

साझेदारी दैनिक
393 पाठक संख्या

वीरगञ्ज : मोटरसाइकल चोरीका दुई छुट्टाछुट्टै घटनामा संलग्न दुई अभियुक्तलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

मोटरसाईकल चोरीका दुई घटनामा संलग्न मध्ये पक्राउ पर्नेमा बाराको बारागढी गाउँपालिका–१ बस्ने २५ वर्षीय रूपेश चौधरी रहेको र सर्लाहीको कबिलासी नगरपालिका–४ बस्ने २१ वर्षीय राधेश्याम यादव रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पर्सा प्रहरीका अनुसार वीरगञ्ज महानगरपालिका–४ अमर चोक बस्ने ४६ वर्षीय प्रमोद प्रसाद साहको घर अगाडि पार्किङ गरिएको कालो–रातो रङ्गको मधेस प्रदेश २–०३–०२२ प २७७६ नम्बरको पल्सर मोटरसाइकल चोरी गर्ने प्रयासमा बाराको बारागढी गाउँपालिका–१ बस्ने २५ वर्षीय रूपेश चौधरीलाई पक्राउ गरिएको जनाईएको छ ।

यसैगरी वैशाख २३ गते राति वीरगञ्ज महानगरपालिका–१३ मुर्ली नयाँ टोल बस्ने ३५ वर्षीय सारजा खातुनको घर अगाडि पार्किङ गरिएको मधेस प्रदेश –०३–०२७ प ५५५५ नम्बरको मोटरसाइकल चोरी भएको थियो । उक्त मोटरसाइकलको लक तोडेर चोरी भएको भन्ने पीडितको जाहेरीका आधारमा प्रहरीले खोजतलास सुरु गरेको थियो ।

प्रहरीले खोज्दै जाँदा जेठ १६ गते टोलीले सर्लाहीको कबिलासी नगरपालिका–४ मा खोजतलास गर्ने क्रममा राधेश्याम यादवलाई चोरी भएको उक्त मोटरसाइकलसहित पक्राउ गरेको हो । पक्राउ परेका दुई जना उपर पर्सा प्रहरीले पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a review

This will close in 0 seconds