सानो पाइलाले आफू मातहतको सामुदायिक पुर्नस्थापना केन्द्रका युवालाई आधारभूत प्लम्बिङ तालिम दिएको छ ।
गृह मन्त्रालयको आर्थिक सहयोगमा भएको तालिममा १० जना युवाहरुलाई प्राबिधिक तालिम दिइएको हो। उनीहरूलाई मेकानिकल इन्जिनियर पवन यादवले प्रशिक्षण दिएका हुन् ।
देशमै पहिलो सामुदायिक पुनर्स्थापना केन्द्र सुरु गरेको सानो पाइलाले पुनर्स्थापना केन्द्रमा आउने युवाहरूलाई सीपसहित समाजमा पुनर्स्थापित गर्ने उद्देश्य राखेको थियो । सोही अनुरूप गृह मन्त्रालयलाई आर्थिक सहयोगको प्रस्ताव गरेको थियो ।
देशैभरबाट प्राप्त प्रस्तावहरूमध्ये सानो पाइला पहिलो नम्बरमा छनौट भइ गृहमन्त्रालयबाट तालिम सञ्चालनका लागि अनुदान पाएको हो । लागु औषध नियन्त्रण शाखाले अनुदानका लागि छनौटमा परेका ४ पुनर्स्थापना केन्द्रमध्ये सानो पाइलालाई तालिम संचालनार्थ सबैभन्दा धेरै आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो ।
पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले गृह मन्त्रालयबाट उपलब्ध अनुदानले संचालन गरिएको तालिमबारे चासो राख्दै पुर्नस्थापना केन्द्रको निरीक्षण गरे ।
सिकेको सीपलाई सार्थक बनाउने तर्फ लाग्न सहभागी युवाहरुलाई प्रजिअ भुषालले सुझाएका थिए । प्रमाणपत्र वितरण गर्दै भुषालले विविध किसिमका तालिमहरूको निरन्तरता र दिगोपनामा ध्यान पुर्याउन सानो पाइलालाई आग्रह गरे ।
सानो पाइला सामुदायिक पुर्नस्थापना केन्द्रका प्रमुख भाजु पटेलले आफूकहाँ उपचारार्थ आउने युवाहरूलाई उपयोगी सीप सिकाउँदै समाजमा पुर्न स्थापित गर्ने नीति लिइएको जनाए ।
सानो पाइलाका सभापति सुदीप लामाले आउँदा दिनहरूमा यस किसिमका तालिम एडभान्स लेभलमा सञ्चालन गर्ने सोच बनाएको बताए ।सानो पाइलाका अपरेसन्स हेड विवेक कर्णले पुर्नस्थापना केन्द्रमा आउने युवाहरूलाई व्यवसायिक सीप सिकाउँदै समाजमा पुर्नस्थापित गर्ने अभियान अन्तर्गत तालिम दिईएको बताए ।
वीरगञ्ज र आसपासका क्षेत्रमा आवश्यक प्लम्बिङ सम्बन्धी कामका लागि दक्ष जनशक्ति तयार पार्ने र व्यावसायिक सेवा प्रवाहका लागि एउटा स्तरीय एप विस्तारको सोचमा आफूहरू रहेको उनले जनाए ।

