सन्तोष पाण्डे/
पत्रकार हत्या अभियोगमा विगत १३ बर्षदेखी फरार अर्का एक अभियुक्तलाई बारा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा साविक जिल्ला बारा तेलकुवा गा.बि.स. वडा नं.७ हाल परिवर्तित महागढीमाई नगरपालिका वडा नं.२ तेलकुवा टोल वस्ने ४५ बर्षिय हरेराम पटेल भन्ने हरेराम कुर्मी रहेका छन ।
उनलाई बाराका पत्रकार स्वार्गिय वीरेन्द्र साहको हत्या अभियोगमा पक्राउ गरिएको हो । कुर्मी सहितकाले २०६४ असोज १८ गते जिल्लाको उम्जन गाविस अन्तर्गत पिप्राबाट पत्रकार साहलाई अपहरण गरि हत्या गरेका थिए।
विशेष सुराकिको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले विहिवार दिउसो साढे २ बजे जिल्लाको कोल्हवी नगरपालिका वडा नं. ४ सपही टोलमा लुकिछिपि बसेको अवस्थामा पक्राउ गरिएको प्रहरी उपरिक्षक कृष्णप्रसाद पंगेनीले बताएका छन ।
पक्राउ परेका कुर्मी, कुन्दन फौजदार भन्ने नरेन्द्र कुमार फौजदार, राम एकवाल सहनी र मनेजर गिरी समेतका ५ जना व्यक्तिहरूले अपरहण गरी लगी गोली हानी हत्या गरेका थिए ।
पत्रकार साहको शव २०६४ कार्तिक २२ गते जिल्लाकै डुमरवाना वडा नं.७ स्थित जंगलमा खाल्टो खनि गाडेको अवस्थामा फेला परेको थियो ।
यसअघि कुर्मी वाहेका सवै चार जना नै पक्राउ परि सकेका छन । बारा जिल्ला अदालतको २०६८ जेष्ठ १६ गते, पुनरावेदन अदालत हेटौडाको २०६९ साउन १६ गते र सर्वोच्च अदालतको २०७३ पुष २० गतेको फैसलाले अभियुक्त कुर्मीलाई फरार करार गरी मुद्दा मुल्तबिमा राखेको थियो ।
अभियुक्त मध्येकै अर्का कुन्दन फौजदार भन्ने नरेन्द्र फौजदार गत चैतमा पक्राउ परेका थिए । फौजदार पक्राउ परेको झण्डै पाँच महिनापछि कुर्मी पक्राउ परेका हुन ।
जिल्ला प्रहरी कार्यालय बारामा नेतृत्व गरेका प्रहरी उपरिक्षक कृष्णप्रसाद पंगेनीकै कार्याकालमा पत्रकार साहका दुई अभियुक्त पक्राउ पर्नुले उनको यो कार्य बाराली संचारकर्मीहरुमा प्रसंशनिय रहेको छ ।
पत्रकार साहको हत्यामा संलग्न अभियुक्त कुर्मीलाई पक्राउ गर्न नेपाल पत्रकार महासंघ प्रदेश नम्बर दुईले पटक पटक दवाव दिएको थियो । प्रदेश महासंघका अध्यक्ष दिपेन्द्र चौहानको नेतृत्वमा जिल्ला प्रहरी प्रमुख र प्रदेश प्रहरी कार्यालयलाई ध्यानाकर्षण गराएको थियो ।