कलैया : सामाजिक सञ्जाल फेसबुकको माध्यमबाट एक महिला स्वास्थ्यकर्मी र नगरप्रमुखलाई जोडेर चरित्र हत्या गरेको भन्दै बाराको पचरौता नगरपालिकाले कारवाहीको माग गरेको छ।
पचरौता नगरपालिकाको सभा हलमा शुक्रवार पत्रकार सम्मेलन गर्दै सामाजिक सञ्जालमा पचरौता नगरपालिकाको महिला स्वास्थ्यकर्मीसंग नगरप्रमुखलाई जोडेर चरित्र हत्या गरिएको भन्दै कारवाहीको माग गरिएको हो ।
पचरौता नगरपालिकाका प्रवक्ता लक्ष्मी यादवले पत्रकार सम्मेलनमार्फत नगरप्रमुख,महिला स्वास्थ्यकर्मीको चरित्र हत्या गर्दै समग्र नगरपालिकालाई नै बद्नाम हुनेगरी सामाजिक सञ्जाल फेसबुकमा अफवा फैलाउनेलाइ कारवाही गर्न माग गरेका छन ।
पचरौता नगर अस्पतालमा हेल्थ अस्सिटेन्ट पदमा कार्यरत ती महिला स्वास्थ्यकर्मीको मंसिर ११ गते दिउँसो २ बजे नगर अस्पतालमा डिउटीमा गएको तथा डिउटीमा रहेकै बेला बेलुकाको समयमा निजलाई ज्वरो आई बेचैनी जस्तो महसुस भएको थियो।
यसपछि त्यहां उपस्थित स्वास्थ्यकर्मीहरुको सल्लाह बमोजिम पारासिटामोल तथा क्लोनाज औषधीखाई अस्पतालको माथिल्लो कोठामा आराम गर्न गएको अवस्थामा उनी बेहोस भएकी थिइन्। उनलाई एम्बुलेन्समा हालि थप उपचारको लागि नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजमा लगिएको थियो,प्रबक्ता यादवले पत्रकार सम्मेलनमा जानकारी गराए ।
उक्त घटनालाई लिएर केही फेसबुक चलाउने अपरिचित व्यक्तिहरुले सामाजिक संजालको माध्यमले ती स्वास्थ्यकर्मी महिलाको,पचरौता नगरपालिकाका नगर प्रमुख जलन्धर सिंह जैसवारको तथा नगर अस्पतालको फोटो समेत राखेर चरित्रमा अभद्र टिप्पणीहरु गर्दै चरित्र हत्या गर्ने काम भएको प्रवक्ता यादवले पत्रकारहरुलाई जानकारी गराए।
उनले घटनाको निष्पक्ष छानबिन गरि दोषिलाई नियमानुसारको कानुनी कार्यवाही गरी पीडितलाई न्याय दिन माग गरिएको छ । फेसबुक आईडीहरु पचरौता अब तक,पचरौता बांसी,सुनिल यादव,पचरौता खवर,मुकेश राज यादव लगायतबाट गलग टिप्पणी गरिएको जनाउँदै नगरपालिकाले कारवाहीको माग गरेको हो ।
यसैविच पचरौता नगरपालिकाका जनस्वास्थ्य निरीक्षक सुरेन्द्र प्रसाद साहले दोषीलाई कारवाही भएन भने पचरौता नगरपालिका भित्र रहेको स्वास्थ्य चौकी,नगर अस्पताल र जिल्लामा रहेको स्वास्थ्य संस्थाहरु समेत ठप्प गर्ने पत्रकार सम्मेलनमा चेतावनी समेत दिएका छन।
चरित्र हत्या भएको भन्दै एक महिला स्वास्थ्यकर्मीले जिल्ला प्रहरी कार्यालय बारालाई बोधार्थ गर्दै निवेदन दिएको जनस्वास्थ्य निरीक्षक साहले जानकारी दिए।
बीरगंजमा रहेको नेशनल मेडिकल कलेजमा उपचार पछी स्वास्थ्यकर्मीको डिस्चार्ज भएको समेत उनले साहले बताएका छन्। नगरपालिकाले कारवाहीको मागको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजूरी दिएको छ भने बोधार्थ जिल्ला प्रशासन कार्यालय बारामा दिइएको जनाईएको छ ।

