कलैया : खानेपानी संकट समाधानको लागि बारामा सुझाव संकलन गरिएको छ। बारासहित तराई–मधेसका जिल्लाहरुमा व्यापकरुपमा खानेपानीको समस्या देखिन थालेपछि यस्तो सुझाव संकलन गरिएको हो।
जिल्ला प्रशासन कार्यालय बाराले सरोकारवाला निकायसँग जिल्ला प्रशासन कार्यालयको सभाहलमा सोमबार भएको छलफलमा सुझाव संकलन भएको हो। बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको नेतृत्वमा सो छलफल कार्यक्रमको आयोजना गरिएको हो।
जिल्ला भित्रका खानेपानीका स्रोत, वितरण प्रणाली, वर्तमान अवस्था र सुधारका उपायबारे विस्तृत रुपमा सो कार्यक्रममा छलफल गरिएको छ। सुझाव संकलन कार्यक्रममा सहभागीहरूले बारा जिल्लाभित्र रहेका खानेपानीका स्रोतहरूको संरक्षण गर्न सुझाव दिएका थिए। उनीहरुले सुधार र उचित व्यवस्थापनमा जोड दिएका थिए।
भूगर्भीय पानीको अत्यधिक दोहन भइरहेको सो कार्यक्रममा बताइएको हो। जलस्रोतको अभाव, वितरणमा असमानता र सरकारी निकायको समन्वयहीनताले समस्या झन् जटिल बनाएको कुरा सो कार्यक्रममा आएको थियो। दीर्घकालीन रणनीतिमा केन्द्रित हुन सो कार्यक्रममा सहभागिहरुले आग्रह गरेका थिए।
जिल्ला प्रशासनले प्राप्त सुझावहरूलाई समेटी नीति निर्माण तहमा पहल गर्नेछ। सबैको सहकार्यमा आगामी दिनमा समाधान खोजिने प्रमुख जिल्ला अधिकारी अधिकारीले सो छलफलमा जानकारी दिएका थिए।
उक्त कार्यक्रममा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य किसान श्रेष्ठ ,जिल्ला समन्वय समिति बाराका सभापति नरेन्द्र साहको विशेष उपस्थिति रहेको हो। सो कार्यक्रममा स्थानीय तहका प्रमुख, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजिक अभियन्ता, सरोकारवाला संघसंस्था लगायत विज्ञ व्यक्तिहरूको उपस्थिति रहेको थियो।

