मौलापुरद्वारा विधुत महसुलको चेक प्राधिकरणलाई

साझेदारी दैनिक
402 पाठक संख्या

रौतहट : करणकुमार मिश्र / रौतहटको मौलापुर नगरपालिकाले २२ लाख १० हजार रुपैयाँको विधुतको चेक शुक्रबार हस्तान्तरण गरेको छ।

नगरपालिकाको जनमुखी एवम् लोकप्रिय कार्यक्रम “निशुल्क बिजुली पानी“ अन्तर्गत बैशाख महिनाको विधुत महसुल हस्तान्तरण गरेको हो।

जनताको कृषि तथा घरायसी मिटरको समपूर्ण विद्युत महसुल बापतको रकम मौलापुर नगरपालिकाकी मेयर रिना साहको निर्देशनमा विद्युत प्राधिकरण,मौलापुर वितरण केन्द्रलाई निरन्तर बुझाउदै आएको छ।

नगरप्रमुख रिना कुमारी साहको निर्देशनमा उक्त चेक मौलापुर वितरण केन्द्रका कर्मचारीलाई प्रदान गरिएको हो ।

चालु आर्थिक वर्ष २०८१/०८२ मा मौलापुर नगरपालिकाले जनताको विद्युत महसुल बापत हालसम्म रु २ करोड ५७ लाख १० हजार रकम विद्युत प्राधिकरणलाई निकासा गरिसकेको प्रमुख प्रशासकीय अधिकृत रामबाबू साहले साझेदारी दैनिकलाई बताए । यस्तो जनमुखी कार्यक्रम विगत ८ वर्षदेखि सफल रूपमा निरन्तर चलाइराखेकोमा मेयर रीना साह लाई नगरबासीले खुलेर प्रशँसा गर्दै आएका छन्।

यस्तै मौलापुरकी मेयर साहको पहलमा कानून अनुसार विवाह गर्न उमेर पुगेका गरिब, असहाय परिवारका छोरीको विवाहका लागि नगद ३० हजार रुपैया उपलब्ध गराउँदै आएकी छन् । ‘असहायका साथ मेयर’ भन्ने कार्यक्रम अन्र्तगत सो रकम मौलापुर नगरपालिकाले उपलब्ध गराउँदै आएको छ ।

मेयर साहकै पहलमा मौलापुर नगरपालिकामा मालपोत शुल्क,नागरिकता सिफारिस,विवाह दर्ता,मृत्यु दर्ता लगायतका बिभिन्न सिफारिसहरुको समेत शुल्कहरु शुन्य बनाइएको छ । शुन्य शुल्कको नीति लिएको मौलापुरको यस्तो कामले सर्वसाधारण खुशी व्यक्त गर्दै आएका छन्।

Leave a review