कलैया :जिल्ला प्रहरी कार्यालय बारा तथा यस कार्यालय मातहतका प्रहरी निकायले विभिन्न मुद्दामा फरार १३ जना प्रतिवादीलाई पक्राउ गरेको छ।
प्रहरी कारवाहीको सिलसिलामा प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय बारा अनुसार चालु मुद्दाहरूमा लामो समय देखि वारदात पश्चात उनीहरु फरार रहेका थिए।
उनीहरुको खोज तलास गरी लुकिछिपि बसेको अवस्थाबाट पक्राउ गरी आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको छ।
प्रहरीले देवताल गाउँपालिका वडा नम्बर ४ निवासी ६० वर्षीय फिदा अंसारीलाई कर्तव्य ज्यान मुद्दामा,ठगी मुद्दामा फरार रहेको कोल्हवी ३ का ४६ वर्षीय फुलेन्द्र चौधरी, अभद्र व्यवहार मुद्दामा सिम्रौनगढ वडा नं. १० का ब्रहमानन्द यादवलाई प्रहरीले पक्राउ गरेको हो।
सरकारी कागज किर्ते मुद्दामा बारागढी गाउँपालिका वडा नम्बर २ दौर्वा निवासी ५८ वर्षीय बुनिलाल साह तेली तथा सोही गाउँपालिका वडा नं.५ बैरिया निवासी ६५ वर्षीय हरिन्द्र साह तेली,लागु औषध गाँजा खेती मुद्दामा करैयामाई गाउँपालिका वडा नम्बर ५ ठोरियाहीका ५० वर्षीय भुपनारायण चौधरी भन्ने मौजेलाल चौधरी,लागु औषध गाँजा मुद्दामा सिम्रौनगढ वडा नं. ६का ५८ वर्षीय ढोरा महतो,सोही ठाउँका ८० वर्षीय भोला रामलाई प्रहरीले पक्राउ गरेको हो।
बैंक कसुर मुद्दामा करैयामाई गाउँपालिका वडा नं. १ मधुवनका ३२ वर्षीय हरिन्द्रप्रसाद यादव, अप्राकृतिक मैथुन मुद्दामा कलैया २३ भतौडाका २० वर्षीय कमलेश पटेल,कलैया २३ भतौडा निवासी ५५ वर्षीय विष्णुसहनी मलाहलाई जिउमास्ने मुद्दामा फरार भएपछि प्रहरीले पक्राउ गरेको हो।
कलैया १ पर्सा टोल निवासी ३१ वर्षीय हिरालाल ठाकुर,सवारी ज्यान मुद्दामा देवताल ७ निवासी मकसुद मियाँलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

