कलैया : बारा प्रहरीले लाखौं रुपैयाँ बराबरको अवैध सामान बोकेको एक ट्रक नियन्त्रणमा लिएको छ।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीको नेतृत्वमा खटिएको प्रहरी टोलीले शुक्रबार वीरगंजबाट नारायणगढतर्फ जाँदै गरेको ना ४ ख ५६७२ नम्बरको डिब्बा ट्रक सिमरा चौकस्थित पूर्व–पश्चिम लोकमार्गमा रोकी चेकजाँच गरेको थियो।
जाँचका क्रममा ट्रकमा लोड गरिएको सामान बिल–बिजकभन्दा फरक पाइएपछि भन्सार छलिको आशंकामा ट्रकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
सो ट्रकमा करिब ५२ लाख ७० हजार ९३ रुपैयाँ बराबरको कपडा, साइकल पार्टपुर्जा, केमिकल, औषधि लगायतका विभिन्न किसिमका खुद्रा सामान लोड रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी बिजयराज पण्डितले जानकारी दिए ।
उनका अनुसार उक्त ट्रक तथा सामान नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।

