कलैया : कहिले पानी पर्छ भनेर बाराली किसानको आँखा आकाशतिर रहेको छ। विगत डेढ महिना देखि पानी नपरेपछि किसानहरु आज भोली पानी पर्छ भनेर आकाश तिर हेर्ने गरेका छन्।
जिल्लाको १६ पालिकाका लाखौं किसानको दिन चर्या आकाशतिर बाँदललाई हेर्दै आश गर्दै वितिरहेको छ। किसानहरु कहिले ठुलो पानी पर्छ, उनीहरु पर्खाईमा रहेका छन्। कलैया उपमहानगरपालिका वडा नम्बर १७ का किसान पिरमहम्मद हवारीले असार महिनामा पानी नपरेपछि साउन महिनामा पानी पर्छ भन्ने आशामा धानको रोपाई गरेका छन्।
साउन महिनामा समेत पानी नपरेपछि किसानहरु चिन्तित भएका हुन्। हजारौ रुपैयाँ खर्च गरेर धानको रोपाई गरेका किसानलाई पानी नपरेकाले अहिले धान बाली जोगाउन समस्या भएको हवारीले बताए। उनीहरु वाटर पम्प, मोटर लगायतले सिचाई गरी धान बाली जोगाउन लागि परेकाछन्।
साधन श्रोत नभएका किसानलाई बढी समस्या भएको छ। उनीहरु भाडा लगाएर खेतको सिचाई गरी धान बाली जोगाउन लागेका छन्। पानी नपरेकाले खेती धेरै महँगो भएको किसान हिरालाल साहले बताए। मोटरले सिचाई गर्न सस्तो भएपनि वाटरपम्पले सिचाई गर्दा धेरै खर्च लाग्ने गरेको उनले बताए।
पर्याप्त भोल्टेज नभएका कारण वाटर पम्पले सिचाई गरेर धानको रोपाई गर्दा खर्चिलो भएको उनले बताए। वर्षा भएन भने धानको उत्पादन घटने उनको भनाई रहेको छ। धानको रोपाई गर्नका लागि एक कठ्ठा जग्गामा तीन घण्टा पानी लगाउनु परेको उनले बताए।
यता साढे चार कठठा खेतमा रोपाई गर्नका लागि १२ लिटर डिजेल लागेको अर्का किसान महेन्द्र पटेलले बताए।वर्षा नभएकाले जिल्लाको १६ पालिकाको लाखौ किसान पीडामा छन्।साउन महिनामा पनि किसान धानको रोपाई गरिरहेका छन्।

