बारा । बाराको कलैया उपमहानगरपालिका–१० मटिअर्वामा आगलागीबाट घर तथा धनमाल गुमाएका रतन महरा चमारको परिवारलाई कलैया उपमहानगरपालिकासहित विभिन्न क्षेत्रबाट राहत तथा सहयोग उपलब्ध गराइएको छ। आगलागीबाट ठूलो क्षति व्यहोरेको परिवारलाई जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, युवा तथा समाजसेवीहरूले खाद्यान्न, लत्ताकपडा, कम्बल र नगद सहयोग गरेका हुन्।
कलैया उपमहानगरपालिकाले पहिलो चरणमा पीडित परिवारलाई चार बोरा चामल, खाना पकाउने ग्यास सिलिन्डर, चुलो, भाँडाकुँडा, लत्ताकपडा, कम्बल, त्रिपाल तथा पाँच हजार रुपैयाँ नगद उपलब्ध गराएको थियो। नगरप्रमुख विनोद साहले वडा नम्बर १० का वडा अध्यक्ष महम्मद साबिरमार्फत राहत सामग्री हस्तान्तरण गरेका हुन्।
त्यसैगरी, दोस्रो चरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अरविन्द साह, जनमत पार्टीका जिल्ला अध्यक्ष शिवनाथ पटेल, जेनजी युवा सौरभ पाण्डेय तथा समाजसेवी हिरामाती कुशवाहाले पीडित परिवारलाई कम्बल, चामल र नगद सहयोग गरेका छन्।
मंगलबार बिहान करिब ३ बजे रतन महरा चमारको घरमा आगलागी हुँदा करिब १० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको थियो। आगलागीमा घरका सामान, खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, दुईवटा साइकल, गरगहना तथा बाख्रासमेत जलेर नष्ट भएका थिए। आगो फैलिँदा छिमेकी धुरेन्द्र महरा र हरिन्दर रामको घरमासमेत क्षति पुगेको थियो।
कलैया उपमहानगरपालिका, महागढीमाई नगरपालिका, देवताल गाउँपालिका, मटिअर्वा प्रहरी चौकी, सशस्त्र प्रहरी बल मटिअर्वा तथा स्थानीयवासीको संयुक्त प्रयासमा बिहान करिब ४ः३० बजे आगो नियन्त्रणमा लिइएको थियो। साथै पीडित परिवारलाई सहयोग गर्न सम्बन्धित निकाय, संघसंस्था, समाजसेवी तथा सहयोगीहरूलाई आग्रह गरिएको छ।



