निजगढ : बाराको निजगढ–१३ क्षेत्रमा सामुदायिक वन समूह र स्थानीय निकायले संयुक्त रूपमा सरसफाइ कार्यक्रम सम्पन्न गरेका छन् ।
संविधान दिवसको अवसरमा पर्सा राष्ट्रिय निकुञ्जसँग जोडिएको धारापानी सामुदायिक वन उपभोक्ता समूह र निजगढ नगरपालिका वडा नम्बर १३ वडा कार्यालयले संयुक्त पहलमा शुक्रबार बिहान सडक छेउछाउमा व्यापक सरसफाइ अभियान चलाएका थिए ।
उनीहरुले सडकदेखि करिब १० मिटर वरपर रहेका बाक्लो झाडी फाँडेर सफा गरिएको छ । स्थानीयवासीका अनुसार हालैको केही महिनायता सो क्षेत्रमा बाघको गतिविधि तीव्र भएको छ । दिनदहाडै मुख्य सडकमा समेत बाघ देखापरेपछि विद्यार्थीहरू विद्यालय जाने बाटोमा र सर्वसाधारण बजार आउजाउमा असुरक्षित महसुस गर्न थालेका थिए ।
स्थानीयहरुले यी समस्यालाई मध्यनजर गर्दै सुरक्षित वातावरण निर्माणका लागि सरसफाइ अभियान सञ्चालन गरिएको आयोजकको जनाएको छ ।
कार्यक्रममा जुनतारा युवा क्लब मानेचोक युवा क्लब, फ्याफुल्ला युवा क्लब र प्रगतिशील टोलविकास बेशीगाउँ र धारापानी सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरूले संविधान दिवसजस्तो विशेष दिनमा स्थानीय समुदायको सहभागिता लिएर गरिएको सरसफाइ कार्यले वन र मानवबीच बढ्दो द्वन्द्वलाई केही हदसम्म कम गर्न सहयोग पुग्ने विश्वास गरेको छ ।
यसैबीच निजगढ वडा नम्बर १३ कै शिवशक्तेश्वर सामुदायिक वन उपभोक्ता समूहले पनि आफ्नो क्षेत्रमा पर्ने मुख्य सडक छेउमा सरसफाइ गरेको छ । उनीहरूले सडक छेउका बाक्ला झाडी फाँडेर सडकलाई खुला र सुरक्षित बनाउने कार्यमा जोड दिएका छन् । उनीहरुका अनुसार वन्यजन्तु नियन्त्रणका लागि सामुदायिक तहमा गरिएको यस्तो प्रयास महत्त्वपूर्ण छ र यसले दीर्घकालीन रुपमा पनि वन र मानव सम्बन्ध सहज बनाउन मद्दत गर्नेछ ।
सरसफाइ अभियानमा स्थानीयवासी, विद्यार्थी, वडा अध्यक्ष, सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो ।


