बारामा छठ हेर्न निस्किएका भोला सहनी मृत अवस्थामा फेला

साझेदारी दैनिक
569 पाठक संख्या

कलैया । बाराको महागढीमाई नगरपालिकामा सोमबार साँझदेखि हराइरहेका एक युवक मंगलबार मृत अवस्थामा फेला परेका छन्।

मृत फेला पर्नेमा बारा जिल्लाको महागढीमाई नगरपालिका–५ बगडमपुर टोल निवासी ध्रुव सहनीका १९ वर्षीय छोरा भोला सहनी रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिएका छन् ।

परिवारका अनुसार सहनी सोमबार साँझ “छठ पूजामा जान्छु” भनी घरबाट निस्केका थिए तर रातभरिको खोजीपछि पनि घर फर्किएका थिएनन्। मंगलबार बिहान उनका बुबाले प्रहरी चौकी गंजभवानिपुरमा उनी हराएको जानकारी गराएका थिए।

जानकारीपछि प्रहरी नायब निरीक्षक बालराज गिरिको कमाण्डमा खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा महागढीमाई नगरपालिका वडा नम्बर ४ र ५ को सिमानामा पर्ने बाँसघारी क्षेत्रमा सहनीका व्यक्तिगत सामानहरू फेला पारेको थियो।

प्रहरीका अनुसार घटनास्थल वरिपरि सहनीले प्रयोग गर्ने स्टिलको बाला, जुत्ता, पर्स, कालो हुडी, मोबाइल, घडी र इयरबडलगायतका सामग्री भेटिएका थिए। यी सबै वस्तुहरू प्रहरीको उपस्थितिमा उक्त स्थानमै सुरक्षित राखिएको छ।

सोही घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको प्रवक्ता पण्डितले जानकारी दिए ।

घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षक सुरेशराज भट्टको कमाण्डमा जिल्ला प्रहरी कार्यालय बाराबाट टोली खटाइएको छ।दहियार टोल निवासी ललन यादवको ठूलो पोखरीमा सहनीको शव फेला परेको प्रहरीले जनाएको छ।

डीएसपी पण्डितका अनुसार घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको छ। यसै क्रममा तालुक नेपाल प्रदेश प्रहरी कार्यालय विरगंज पर्साको ढक टोली पनि थप अनुसन्धानका लागि घटनास्थलत खटाइएको छ।

Leave a review