वन्यजन्तुमैत्री पूर्वाधार कार्यान्वयनमा जोड,दुर्घटना न्यूनीकरणका उपाय अपरिहार्य

रञ्जन यादव
322 पाठक संख्या

जीतपुर : निकुञ्ज तथा वन क्षेत्र भएर जाने राजमार्गमा हुने सडक दुर्घटनाबाट मानव र वन्यजन्तुको क्षति न्यूनीकरण गर्ने उद्देश्यले सरोकारवाला निकायहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

पर्सा राष्ट्रिय निकुञ्ज आधाभारको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा ‘वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका–२०७८’ लाई योजना, डिजाइन, निर्माण तथा अनुगमनका सबै चरणमा प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।

अन्तक्र्रियामा हाल निर्देशिका केवल आचारसंहिता जस्तै सीमित रूपमा बुझिँदै आएको तर व्यवहारमा प्रभावकारी कार्यान्वयन नहुँदा निकुञ्ज क्षेत्रका सडकमा वन्यजन्तु र मानवीय दुर्घटना बढ्दै गएको निष्कर्ष निकालिएको छ। सहभागीहरूले निकुञ्जभित्रका सडक क्षेत्रमा सवारी साधनको गति कडाइका साथ नियन्त्रण गर्ने, स्पीड ब्रेकर तथा रम्बल स्ट्रिप जडान गर्ने, रात्रीकालीन सवारी सञ्चालनमा विशेष सावधानी अपनाउने र उच्च जोखिमयुक्त स्थानमा चेतनामूलक सूचना बोर्ड राख्नुपर्नेमा जोड दिएका छन्।

कार्यक्रममा चितवनको टिकौली र पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा प्रस्तावित दुई वटा फ्लाइओभर निर्माण योजनाका सन्दर्भमा गम्भीर छलफल भएको थियो। चितवन क्षेत्रमा टेन्डर प्रक्रिया सम्पन्न भइसकेको अवस्थामा समेत वन्यजन्तु सुरक्षाका मापदण्ड पूर्ण रूपमा समेटेर मात्र निर्माण कार्य अघि बढाउनुपर्ने र अन्तक्र्रियाबाट उठेका सुझावलाई नीतिगत तहसम्म पु-याउनुपर्ने माग सहभागीहरूले गरेका छन्।कडाइका साथ कार्यान्वयन, चालक तथा यात्रु लक्षित जनचेतना कार्यक्रम र नियमित अनुगमन पनि समान रूपमा महत्वपूर्ण रहेको निष्कर्ष निकालिएको छ।

पर्सा राष्ट्रिय निकुञ्जका बरिष्ठ संरक्षण अधिकृत रामचन्द्र खतिवडाको अध्यक्षतामा भएको अन्तक्र्रिया कार्यक्रममा डिभिजन बन कार्यालय बाराका डिभिजनल बन अधिकृत राजीज कुमार झा , जीतपुरसिमरा उपमहानगरपालिकाको नगर उप प्रमुख भोला प्रसाद अधिकारी , वडा नं.२१ का वडा अध्यक्ष सुबाश श्रेष्ठ , वडा नं.२२ का वडा अध्यक्ष शेखरकाजी रुम्बा , वन विज्ञान संकाय हेटौंडाका डिन बासुदेव पोख्रेल, पथलैयाका ट्राफिक निरिक्षक रमेश राई, सडक डिभिजन हेटौंडाका इन्जिनियर गिरिश नन्दन पोरस, नेपाल आयल निगम प्रशासनका आकाश बस्नेतलगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

Leave a review

This will close in 0 seconds