जीतपुरमा मदरसा ईसालमिया नसिमनगरलाई १२ धुर जग्गा दान

रञ्जन यादव
221 पाठक संख्या

सिमरा : बाराको जीतपुरस्थित मदरसा ईसालमिया नसिमनगरलाई समाजसेवी तथा सञ्चार उद्यमी राजुराज गिरीले लाखौँ रुपैयाँ मूल्य बराबरको १२ धुर जग्गा दान गर्नुभएको छ। शैक्षिक तथा धार्मिक क्षेत्रको विकासमा योगदान पु-याउने उद्देश्यले गिरीले उक्त जग्गा मदरसाको नाममा हस्तान्तरण गर्नुभएको हो।

जग्गा दान कार्यक्रमलाई सम्बोधन गर्दै समाजसेवी गिरीले धार्मिक सहिष्णुता, आपसी सद्भाव र भाइचाराको सम्बन्धलाई अझ मजबुत बनाउनु आजको आवश्यकता रहेको बताउनुभयो। उहाँले पछिल्लो समय सामाजिक सञ्जालमार्फत फैलिने नकारात्मक प्रवृत्तिप्रति सचेत रहन आग्रह गर्दै समाजमा आपसी सम्मान, मेलमिलाप र समझदारी कायम गर्न सबै पक्षको भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो।

“धर्मले मानिसलाई विभाजन होइन, जोड्न सिकाउँछ,” उहाँले भन्नुभयो।यसै अवसरमा मदरसा ईसालमिया नसिमनगरको आयोजनामा दस्तारबन्दी ‘हुफ्फाजे केराम’ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा कुरानको अर्थ बुझी कण्ठ गरेका पाँच जना हाफिजलाई पगरी (दस्तार) लगाइ सम्मान गरिएको थियो। सम्मानित हुने हाफिजहरूमा नेयाज अहमद, शहबज अहमद, मोहम्मद आमिर, इम्तेयाज आलम र अबु बकर रहेका छन्।

कार्यक्रममा धार्मिक गुरु, स्थानीय बुद्धिजीवी, समाजसेवी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। मदरसा व्यवस्थापन पक्षले राजुराज गिरीको योगदानले संस्थाको भौतिक तथा शैक्षिक विकासमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्दै उहाँप्रति आभार प्रकट गरेको छ। यस्ता सहयोग र सद्भावका कार्यले समाजमा धार्मिक सहअस्तित्व र सामाजिक एकता अझ सुदृढ हुने उनीहरूको भनाइ रहेको छ।

Leave a review