कलैया । गरिमा चौधरीको हत्यारालाई कडा कानुनी कारवाही गर्न नेपाल शिक्षक संघ जिल्ला कार्य समिति बाराले माग गरेको छ। संघ बाराका अध्यक्ष राजकिशोर सहनी तथा सचिव सुकदेव यादवले एक प्रेस विज्ञप्ति जारी गरी यस्तो माग गरेका हुन्।
विज्ञप्तिमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २ स्थित श्री सरस्वती आधारभूत विद्यालय, दशविगाहको कक्षा बालविकासमा अध्ययनरत अबोध एवं प्रिय छात्रा गरिमा चौधरीको क्रूर र अमानवीय ढंगले गरिएको जघन्य हत्याको घटनाप्रति नेपाल शिक्षक संघ, बाराको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा लेखिएको छ।
एक अबोध बालिकाको बाँच्न पाउने नैसर्गिक अधिकारको हनन गर्दै समाजलाई नै स्तब्ध र त्रसित बनाउने यस बर्बरतापूर्ण तथा पाशविक कार्यको नेपाल शिक्षक संघ, बारा घोर भत्र्सना गर्दछ विज्ञप्तिमा लेखिएको छ।
यस दुःखद एवं संवेदनशील घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै विज्ञप्तिमा शोक सन्तप्त परिवारजन तथा विद्यालय परिवारप्रति गहिरो समवेदना व्यक्त गरिएको छ।
यस जघन्य अपराधमा संलग्न जो–कोहीलाई तत्काल पक्राउ गरी निष्पक्ष छानबिन गर्न तथा दोषीलाई प्रचलित कानुनबमोजिम कठोर भन्दा कठोर कारवाही गर्न नेपाल सरकार र स्थानीय प्रशासन समक्ष विज्ञप्तिमा जोडदार माग गरिएको छ।
विद्यालयमा अध्ययनरत बालबालिकाहरूको सुरक्षामाथि खेलवाड गर्ने यस्ता घटना दोहोरिन नदिन विद्यालय तथा समाजमा शान्ति सुरक्षाको भरपर्दो व्यवस्था मिलाउन र नागरिकको जीउधनको रक्षा गर्न स्थानीय प्रशासनको विज्ञप्तिमा गम्भीर ध्यानाकर्षण गराइएको छ।
यस घटनाका दोषीलाई राजनीतिक वा अन्य कुनै पनि बहानामा उन्मुक्ति दिने प्रयास गरिएमा वा कानुनी कारबाहीमा ढिलासुस्ती गरिएमा नेपाल शिक्षक संघ, बारा सशक्त आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी समेत विज्ञप्तिमा दिइएको छ।
अपराधीलाई कडा भन्दा कडा कानुनी कारवाही नभएसम्म र पीडित परिवारले न्याय नपाएसम्म नेपाल शिक्षक संघ, बारा निरन्तर पीडितको पक्षमा न्यायका लागि लडिरहने प्रतिबद्धता समेत विज्ञप्तिमा व्यक्त गरिएको छ।
संघले शुक्रबार बारा जिल्लाका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूले दिवंगत छात्रा गरिमा चौधरीको आत्माको चिरशान्तिको कामना गर्दै शोकसभा/शोक मनाइदिन विज्ञप्तिमा अपिल गरिएको छ।


