प्रहरी उपरीक्षक बस्नेतद्वारा रौतहट जिल्ला ट्राफिक प्रहरी कार्यालयको स्थलगत निरीक्षण

संदिप प्रसाद यादव
284 पाठक संख्या

पथलैया : नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बाराका प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्र बहादुर बस्नेतले आइतबार रौतहट जिल्लाको चन्द्रपुरस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयको स्थलगत निरीक्षण गर्नुभएको छ। ट्राफिक व्यवस्थापन तथा सडक सुरक्षालाई थप सुदृढ बनाउने उद्देश्यले गरिएको उक्त निरीक्षणलाई महत्वपूर्ण रूपमा हेरिएको छ।

निरीक्षणका क्रममा प्रहरी उपरीक्षक बस्नेतले जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत ट्राफिक प्रहरी कर्मचारीहरूको व्यक्तिगत टर्नआउट, अनुशासन र कार्यशैलीको मूल्यांकन गर्नुभएको थियो। साथै कार्यालय भवनको अवस्था, मेश, ब्यारेक, सरसफाइ तथा भौतिक पूर्वाधारको अवस्थाबारे पनि विस्तृत रूपमा अवलोकन गर्नुभएको थियो।

प्रहरी उपरीक्षक बस्नेतले निरीक्षणको क्रममा ट्राफिक प्रहरी कर्मचारीहरूलाई सम्बोधन गर्दै प्रहरी संगठनले अंगीकार गरेका मूल्य, मान्यता र व्यावसायिक आचारसंहिता सदैव पालना गर्न निर्देशन दिनुभयो। उहाँले विशेषगरी सवारी दुर्घटना न्यूनीकरणलाई प्रमुख प्राथमिकतामा राख्दै सडक प्रयोगकर्तालाई लक्षित ट्राफिक सचेतना कार्यक्रमलाई अझ प्रभावकारी, परिणाममुखी र नियमित रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो।

“ट्राफिक व्यवस्थापन केवल नियम कार्यान्वयन मात्र नभई नागरिकको जीवन सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिएको विषय हो,” भन्दै प्रहरी उपरीक्षक बस्नेतले जिम्मेवारीबोधका साथ सेवा प्रवाह गर्न कर्मचारीहरूलाई आग्रह गर्नुभएको बताइएको छ। सो अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख तथा प्रहरी निरीक्षक राजेन्द्र थापा मगरले कार्यालय तथा मातहतका ट्राफिक युनिटहरूले हालसम्म गरेका गतिविधि, उपलब्धि र चुनौतीहरूबारे जानकारी गराउनुभएको थियो।

उहाँले जिल्लामा ट्राफिक व्यवस्थापन सुधारका लागि गरिएको प्रयास, सचेतना कार्यक्रम तथा दुर्घटना न्यूनीकरणका कार्यहरूको विवरण प्रस्तुत गर्नुभएको जनाइएको छ। प्रहरी वरिष्ठ नायब निरीक्षक अम्बर बहादुर नेपालका अनुसार उक्त निरीक्षणले ट्राफिक प्रहरी कर्मचारीहरूको मनोबल उच्च हुनुका साथै सेवामा थप जिम्मेवार र अनुशासित बन्न प्रेरणा मिलेको जनाए ।

Leave a review