जीतपुरसिमरा उद्योग वाणिज्य संघमा गजेन्द्रको नेतृत्व, बहुमत पदमा एउटै समूहको जित

साझेदारी डेलि
114 पाठक संख्या

जीतपुर । जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनमा युवा व्यवसायी गजेन्द्रकुमार गुप्ता अध्यक्ष पदमा निर्वाचित भएका छन्। आइतबार सम्पन्न मतदानको मतगणना परिणामअनुसार उनले आफ्ना प्रतिद्वन्द्वी मनोजकुमार गुप्तालाई उल्लेख्य मतान्तरले पछि पार्दै आगामी कार्यकालका लागि संघको नेतृत्व हात पारेका हुन्।

निर्वाचन समितिका अनुसार अध्यक्ष पदका विजेता गजेन्द्रकुमार गुप्ताले ५२९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी मनोजकुमार गुप्ताको पक्षमा १९९ मत खसेको थियो। यससँगै गुप्ता ३३० मतको अन्तर सहित अध्यक्षमा निर्वाचित भएका हुन्।

निर्वाचनको नतिजाले अध्यक्ष गुप्ताको समूहप्रति व्यवसायीहरूको स्पष्ट समर्थन देखिएको छ। वरिष्ठ उपाध्यक्ष पदमा शिवजीप्रसाद साह सोनार विजयी बने। उनले ५०२ मत प्राप्त गर्दा प्रतिस्पर्धी सन्तोष कुशवाहाले १९५ मत पाए।

यस्तै, वाणिज्य उपाध्यक्षमा रामबाबु कलवार ५११ मत सहित निर्वाचित भए। उनका निकटतम प्रतिस्पर्धी प्रमोद साह तेलीले १११ मत प्राप्त गरे। महासचिव पदमा प्रकाश गिरी पुनः निर्वाचित हुँदै दोस्रो कार्यकाल सुनिश्चित गर्न सफल भए। उनले ५१२ मत प्राप्त गर्दा सुशील शर्माले १८८ मत पाए।

कोषाध्यक्ष पदमा रिना रौनियार पुरी विजयी भइन्। उनले ४१२ मत प्राप्त गर्दा प्रतिस्पर्धी विन्देश्वरीप्रसाद साह कलवारले २६७ मत प्राप्त गरेका थिए। वाणिज्य सचिव पदमा भने त्रिपक्षीय प्रतिस्पर्धाबीच रिता कंडेल विजयी बनिन्। उनले २९७ मत प्राप्त गरिन् भने प्रदीप कुमारले १७६ मत र स्वतन्त्र उम्मेदवार ८८शान्ताकुमारी बजगाईं (रिना)८८ले १३६ मत प्राप्त गरिन्।

वाणिज्यतर्फका सदस्य पदमा अमरेन्द्रकुमार साह कलवार, विभा गुप्ता, मुकुन्द रिजाल, बलराम पौडेल, विजयकुमार गुप्ता, नवरत्नप्रसाद कलवार तथा मनोहरबाबु गुप्ता निर्वाचित भएका छन्।

संघको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमा कुल ७६२ मत खसेको थियो। निर्वाचनको सम्पूर्ण प्रक्रिया सम्पन्न भइसकेको जानकारी प्रमुख निर्वाचन अधिकृत सरदचन्द्र भट्टराईले दिएका छन्।

यसअघि मनोनयन दर्ताकै क्रममा केही पदमा आवश्यकभन्दा बढी उम्मेदवारी नपरेकाले विजयकुमार साह (उद्योग उपाध्यक्ष), मुकेशप्रसाद साह (उद्योग सचिव), ठहलबहादुर विश्वकर्मा, राकेशकुमार गुप्ता, राजेशकुमार प्रसाद साह (उद्योग सदस्य), हिमांशु गोल्छा (एसोसिएट सदस्य) तथा सूर्यप्रसाद त्रिपाठी (वस्तुगत सदस्य) निर्विरोध निर्वाचित भएका थिए।

नयाँ नेतृत्व चयनसँगै संघले स्थानीय उद्योग, व्यापार तथा उद्यम क्षेत्रका साझा सरोकारलाई थप प्रभावकारी ढंगले उठान गर्ने अपेक्षा व्यवसायी वृत्तले गरेको छ।

Leave a review

This will close in 0 seconds