समाचारको प्रभाव : प्रादेशिक अस्पताल कलैयामा कडाइ, निजी क्लिनिक सिफारिसमा पूर्ण रोक

साझेदारी डेलि
518 पाठक संख्या

कलैया । प्रादेशिक अस्पताल कलैया बाराको सन्दर्भमा समाचार आएपछि उसले यहाँ कार्यरत सबै कर्मचारीलाई आचारसंहिता पालन गर्न भनेका छन् । अस्पतालका मेडिकल सुपरिडेन्ट डा. अजयकुमार गुप्ताले आज एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो भनेका हुन्।

अस्पताल परिसर भित्र कुनै पनि व्यक्तिले आफ्नो निजी अस्पताल, क्लिनिक वा अन्य कुनै निजी स्वास्थ्य केन्द्रको नाम लिने, सिफारिस गर्ने, बिरामीलाई त्यहाँ जान प्रेरित गर्ने वा सो सम्बन्धी कुनै पनि प्रकारको प्रभाव पार्ने कार्य पूर्ण रूपमा निषेध गरिएको प्रेस विज्ञप्तिमा लेखिएको छ।

उक्त कार्यले स्वास्थ्य सेवा प्रवाहमा स्वार्थको द्वन्द सिर्जना गर्नुका साथै बिरामीको अधिकार तथा सेवाको निष्पक्षतामा प्रतिकूल असर पार्ने भएकाले यसलाई गम्भीर अनुशासनहीनता तथा दण्डनीय कसूरको रूपमा लिइने जनाइएको छ।

यदि यस प्रकारको कार्य गरेको पाइएमा नेपाल सरकारको जनस्वास्थ्य सेवा ऐन, २०७५, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको आचारसंहिता तथा प्रचलित अन्य कानुन बमोजिम सम्बन्धित व्यक्तिमाथि कडा कानुनी तथा प्रशासनिक कारबाही गरिने व्योहोरा प्रेस विज्ञप्तिमा सबैलाई जानकारी गराइएको छ। यस निर्देशनको पूर्ण पालना गर्न/गराउन सम्बन्धित सबैको ध्यानाकर्षण विज्ञप्तिमा गराइएको छ।

नेपाल मेडिकल काउन्सिल आचारसंहिता, २०१७ को धारा ५ (ए) बमोजिम कुनै पनि चिकित्सकले आफ्नो नाम, फोटो, डिग्री वा पेशागत विवरण कुनै पनि प्रकारको व्यवसायिक प्रचार–प्रसार (जस्तैः साइनबोर्ड, ब्रोसर, पम्प्लेट आदि) मा प्रयोग गर्न दिन पाउने छैनन् भन्ने प्रेस विज्ञप्तिमा लेखिएको छ।

कुनै पनि चिकित्सकले अस्पताल परिसर वा सोको आसपास प्रभाव पार्ने दूरी भित्र बिरामीलाई आकर्षित गर्ने उद्देश्यले आफ्नो निजी क्लिनिक/अस्पतालको साइनबोर्ड वा विज्ञापन सामग्री राखे कार्य गर्न नपाईने विज्ञप्तिमा लेखिएको छ।

हाल अस्पताल परिसर वा आसपास क्षेत्रमा यस्ता साइनबोर्ड वा विज्ञापन सामग्री राखिएको भए, यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र अनिवार्य रूपमा हटाउन हुन समेत विज्ञप्तिमा भनिएको छ।

Leave a review