रौतहटमा सवारी दुर्घटना हुदाँ दुई जना गम्भीर घाइते

Om Prakash Yadav
282 पाठक संख्या

रौतहट । रौतहटको दुर्गा भगवती गाउँपालिका–४ स्थित कछुवापुल नजिक गौर–गंगापिपरा सडकखण्डमा सवारी दुर्घटना हुँदा दुई जना पुरुष गम्भीर घाइते भएका छन्। आज साँझ करिब ६ बजेको समयमा सवारी दुर्घटना भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गंगापिपराबाट प्रहरी नायब निरीक्षकको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

प्रारम्भिक अनुसन्धानका क्रममा बीआर ३० एइ ५१३८ नम्बरको मोटरसाइकल पुलबाट तल खसेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। उक्त मोटरसाइकलमा सवार हालसम्म नाम, थर र वतन नखुलेका करिब २८ र ३० वर्ष उमेरका दुई जना पुरुष गम्भीर घाइते अवस्थामा फेला परेका छन।

घाइते दुवै जनालाई तत्काल उपचारका लागि बागमती सेन्ट्रल अस्पताल गंगापिपरामा पठाइएकोमा थप उपचारका लागि प्रादेशिक अस्पताल गौर रेफर गरिएको प्रहरीले जानकारी दिएको छ। चिकित्सकका अनुसार दुवै घाइतेको अवस्था गम्भीर रहेको र उनीहरू बोल्न नसक्ने अवस्थामा छन्। प्रहरीका अनुसार दुर्घटना कसरी भयो भन्ने विषयमा हालसम्म यकिन हुन सकेको छैन। मोटरसाइकलको दाहिने साइडको लेगार्ड कुचिएको अवस्थामा रहेको छ भने लेगार्डमा ब्लएक ओके ब्रान्डको रक्सी झोला भेटिएको प्रहरीले जनाएको छ।

घटनापछि जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी निरीक्षक कैलाश केसीको कमाण्डमा ट्राफिक प्रहरीसहितको टोली समेत घटनास्थलमा खटिएको थियो। दुर्घटनाग्रस्त मोटरसाइकल इलाका प्रहरी कार्यालय गंगापिपराको नियन्त्रणमा रहेको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

Leave a review

This will close in 0 seconds