रञ्जन यादब/
जिल्लामा कोरोनाको संक्रमण बढ्दै गएपछि बाराको १६ वटै स्थानीय तहले आईसोलेसन वार्ड बनाउने भएका छन् । बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितको अध्यक्षतामा बिपद ब्यवस्थापन समितीको आज बसेको बैठकले उपमहानगरपालिकालाई ५० बेड ,नगरपालिकालाई २५ बेड र गाउँपालिकालाई १० बेडको आईसोलेसन बनाउने निर्देशन दिएको छ ।
यसरी बिभिन्न स्थानीय तहहरुमा निर्माण हुने ५० बेड भन्दा बढीको क्वारेन्टाईन तथा आईसोलेसन वार्डको सुरक्षाको ब्यवस्था नेपाली सेनाले र सो भन्दा कम बेड भएको हकमा सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले गर्ने छ । जिल्ला अस्पताल कलैया स्थित कोरोना संक्रमित बिरामीहरुलाई कलैया उपमहानगरपालिका वडा नं.३ गंगापुरको शैक्षिक तालिम केन्द्रमा निर्माण गरिएको आईसोलेसन बेडमा सार्ने भएको छ ।
गंगापुरमा ५० बेडको आईसोलेसन बेड तयारी अवस्थामा छ भने महिलाको लागि ५० बेडको आईसोलेसन कलैया उपमहानगरपालिकाका आर्थिक सहयोगमा निर्माण हुने छ । जिल्लाको कलैया स्थित रामराजा बहुमुखी क्याम्पसमा ३ सय बेडको क्वारेन्टाईन सञ्चालन गर्ने निर्णय गरेको छ ।
सो ब्यवस्थापनको लागि आवश्यक खर्च कलैया उपमहानगरपालिका र संसदीय क्षेत्र बिकास कोषबाट मिलान हुने प्रमुख जिल्ला अधिकारी पण्डितले बताउँनुभयो । प्रत्येक स्थानीय तहले जनघनत्वको अधारमा क्वारेन्टाईन निर्माण गर्ने आज गरिएको निर्णयमा भनिएको छ ।
प्रदेश सरकारबाट जिल्ला बिपत ब्यवस्थापन कोषमा प्राप्त ५० लाख रुपैया मध्ये सुरक्षा निकायकोलागि सामग्री खरिदमा भएको खर्च २७ लाख ८१ हजार ३ सय ३ रुपैया अनुमोदन गरेको छ ।बारामा कोरोना संक्रमितको सङख्या ५९ पुगेको छ । जसमा एक जनाको मत्यु भईसकेको छ ।