सम्पत्ति कर संकलनमा सहजीकरण गर्न उपमहानगरपालिकाद्वारा सबै वडा कार्यालयलाई पत्राचार

साझेदारी डेलि
48 पाठक संख्या

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले सम्पत्ति कर संकलनमा सहजीकरणका लागि सबै वडा कार्यालयलाई आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ ।

उपमहानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले जारी गरेको पत्रमार्फत सम्पत्ति कर व्यवस्थापन कार्यविधि, २०८३ कार्यान्वयनमा ल्याइएको जानकारी गराइएको हो ।

उपमहानगरपालिकाका अनुसार २०८३ वैशाख ११ गते बसेको कार्यपालिका बैठकले “सम्पत्ति कर व्यवस्थापन कार्यविधि, २०८३” स्वीकृत गरेको थियो । सोही कार्यविधिअनुसार अब करदाताले मालपोत कर (भूमि कर) बुझाउनुअघि निर्धारित निवेदन फाराम भर्नुपर्ने व्यवस्था गरिएको छ ।

यस व्यवस्थाले सम्पत्ति विवरणलाई व्यवस्थित बनाउने, कर प्रशासनलाई प्रभावकारी बनाउने तथा करदातालाई सहज सेवा प्रवाह गर्ने अपेक्षा गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

साथै, सम्बन्धित कार्यविधि उपमहानगरपालिकाको वेबसाइटबाट डाउनलोड गर्न सकिने जानकारी उपमहानगरपालिकाको राजस्व प्रशासन शाखा प्रमुख राम प्रसाद शर्मा पौडेलको हस्ताक्षरमा जारी पत्रमा उल्लेख गरिएको छ ।

Leave a review

This will close in 0 seconds