कलैया । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराको कलैया उपमहानगरपालिका समितिको सभापति पदका लागि आज पुनः निर्वाचन हुने भएको छ।
जिल्लाको कलैया उपमहानगरपालिका–१ भरतचोकस्थित देवकीलाल धर्मशालामा आज बेलुका ५ बजे मतदान हुने कार्यक्रम तय गरिएको छ।
रास्वपा मधेश प्रदेशकी उपसभापति राधिका न्यौपानेका अनुसार नगर अधिवेशन सम्पन्न भए पनि सभापति पदका कुनै उम्मेदवारले राष्ट्रिय स्वतन्त्र पार्टीको विधान तथा नगर अधिवेशन कार्यविधिअनुसार आवश्यक ५१ प्रतिशत मत प्राप्त गर्न नसकेकाले पुनः मतदान गर्न लागिएको हो।
उनले पुनः निर्वाचन सभापति पदका लागि मात्र हुने जानकारी दिँदै मतदानमा वडा सभापति, उपसभापति तथा सचिवहरूले मताधिकार प्रयोग गर्ने बताइन्।
यसअघि जेठ १७ गते सम्पन्न नगर अधिवेशनमा उमा शंकर रौनियारले १२४ मत प्राप्त गरि विजयी भएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी बब्लु गिरि गोसाईले ८३ मत, सुरेन्द्र शर्माले ६७ मत तथा अभिषेक पटेलले २ मत प्राप्त गरेका थिए।
जेठ १७ गते सम्पन्न निर्वाचनमा सर्वाधिक मत प्राप्त गरेका उमा शंकर रौनियारले पुनः निर्वाचन गराउने निर्णयप्रति आपत्ति जनाएका छन्। उनले आफूले निर्वाचन अधिकृतबाट विजयी प्रमाणपत्र प्राप्त गरी शपथसमेत ग्रहण गरिसकेको दाबी गर्दै विधानअनुसार निर्वाचित भइसकेपछि पुनः निर्वाचन गराउनु उचित नभएको बताएका छन्।


