रास्वपाको जीतपुरसिमरा नगर सभापतिमा केसी निर्वाचित

रञ्जन यादव
56 पाठक संख्या

जीतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जीतपुरसिमरा उपमहानगर समितिको नगर अधिवेशन सम्पन्न भएको छ। सिमरामा आयोजित अधिवेशनले सुरेशराज केसीको नेतृत्वमा नयाँ नगर कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।

नवगठित समितिको उपसभापतिमा कविता चौधरी, सचिवमा अमृत बस्याल तथा सहसचिवमा नारायण उप्रेती चयन भएका छन्। त्यस्तै सदस्यहरूमा उषा बुढाथोकी प्रसाईँ, सुशीला कार्की, मालती भट्टराई, रामबाबु साह, मुकेश साह कलवार, कुणालराज गिरी, नसिमा खातुन, शेराबुल हक, मजीबुल रहमान अन्सारी, इन्द्रा ब्याल, सुवास थापा, शेरबहादुर थापा, सुशील लम्साल र दुर्गा पौडेल रहेका छन्।

नगर कार्यसमितिमा एक जना दलित महिला सदस्य मनोनयन गर्न बाँकी रहेको र त्यसबारे आगामी बैठकले निर्णय गर्ने जानकारी दिइएको छ। अधिवेशनमा बोल्ने नेताहरूले संगठन विस्तार, सुशासन, पारदर्शिता तथा जनउत्तरदायी राजनीतिक अभ्यासलाई प्राथमिकतामा राख्दै पार्टीलाई नगरस्तरमा थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले अधिवेशनस्थलमै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए। शपथपश्चात् सभापति केसीले जनताको विश्वास जित्ने गरी संगठनलाई सक्रिय, उत्तरदायी र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरे।

अधिवेशनले वडा तहसम्म संगठन विस्तार गर्ने, युवाको सहभागिता बढाउने तथा स्थानीय सरोकारका विषयमा सशक्त ढंगले आवाज उठाउने निर्णयसमेत गरेको जनाएको छ। पार्टीका नेताहरूले नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिँदै संगठनलाई थप सुदृढ र गतिशील बनाउन आग्रह गरेका छन्।

Leave a review

This will close in 0 seconds