कलैया बजारमा असारे विकास : ढलान भएको सडकमाथि फेरि ब्लक बिछ्याउँदै

साझेदारी डेलि
341 पाठक संख्या
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; hdrForward: 0; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; delta:null; module: video;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 0;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;HdrStatus: off;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 38;

बारा । आर्थिक वर्षको अन्त्यमा बजेट सकाउने हतारमा बाराको कलैया बजार क्षेत्रमा ढलान भइसकेको सडकमाथि पुनः ब्लक बिछ्याउने काम सुरु गरिएको छ। प्रदेश सरकारको २० लाख रुपैयाँको योजनाअन्तर्गत भइरहेको उक्त निर्माणले विकासको नाममा बजेट सकाउने प्रवृत्तिमाथि गम्भीर प्रश्न उठाएको छ।

आर्थिक वर्षको अन्त्यसँगै ‘असारे विकास’को आलोचना भइरहेका बेला कलैया उपमहानगरपालिका–१ स्थित हाटबजार क्षेत्रमा प्रदेशसभा सदस्यको योजना अन्तर्गत सञ्चालित २० लाख रुपैयाँको योजना विवादमा परेको हो। नयाँ पूर्वाधार निर्माण गर्नुको सट्टा ढलान भइसकेको सडकमाथि नै ब्लक बिछ्याउने काम भएपछि योजनाको औचित्यमाथि स्थानीयले प्रश्न उठाएका छन्।

बारा निर्वाचन क्षेत्र नं. ३ (क) का प्रदेशसभा सदस्य रविन्द्र दास श्रेष्ठको योजना अन्तर्गत हाटबजार स्तरोन्नतिका लागि २० लाख रुपैयाँ विनियोजन गरिएको हो। तर उक्त बजेटबाट नयाँ संरचना निर्माण नगरी पहिलेदेखि प्रयोगमा रहेको ढलान सडकमा पुनः ब्लक बिछ्याउने काम भइरहेको देखिएको छ।

स्थानीयका अनुसार प्रयोगमा रहेको सडकमा पुनः ब्लक बिछ्याउनु आवश्यक नभएको भन्दै योजनाको औचित्यमाथि प्रश्न उठेको छ। यही योजनाअन्तर्गत दही बजार क्षेत्रमा पनि ब्लक बिछ्याउने काम गरिएको भए पनि त्यहाँको निर्माण अझै अपूरो रहेको स्थानीयको भनाइ छ। एकातिर काम अधुरै छ भने अर्कोतर्फ बनेकै सडकमाथि पुनः निर्माण भइरहेकाले योजना कार्यान्वयनप्रति थप शंका उत्पन्न भएको उनीहरूको आरोप छ।

निर्माणस्थलमा सार्वजनिक योजना सूचना बोर्ड समेत नराखिएको पाइएको छ। सार्वजनिक निर्माण कार्यमा योजना, लागत, उपभोक्ता समिति, निर्माण अवधि तथा अन्य विवरण खुल्ने गरी सूचना बोर्ड राख्नुपर्ने कानुनी व्यवस्था भए पनि उक्त योजनामा त्यसको पालना गरिएको देखिएको छैन।

स्थानीयका अनुसार उपभोक्ता समितिको नाममा काम देखाइए पनि विजय गुप्ताले ठेक्का शैलीमा ढलान भएको सडकमाथि ब्लक बिछ्याउने काम गरिरहेका छन्।

यता यस विषयमा पूर्वाधार विकास कार्यालय बारा प्रमुख ओमकुमार साहले निर्माण कार्यबारे जानकारी प्राप्त भएपछि साइट इन्जिनियरलाई स्थलगत निरीक्षण तथा आवश्यक जाँचका लागि पठाइएको बताए। निरीक्षण प्रतिवेदनका आधारमा आवश्यक निर्णय लिइने उनले जानकारी दिए।

Leave a review