द्रुतमार्ग निर्माण क्षेत्रमा गोली लागेको पोथी हरिण मृत भेटियो

रञ्जन यादव
132 पाठक संख्या

निजगढ । बाराको निजगढस्थित निर्माणाधीन काठमाडौं–तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) आसपासको वन क्षेत्रमा गोली लागेको अवस्थामा एउटा पोथी हरिण मृत फेला परेपछि वन्यजन्तुको अवैध सिकार भएको आशंकामा अनुसन्धान सुरु गरिएको छ।

डिभिजन वन कार्यालय बाराका अनुसार बकैया–नागमणि सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रभित्र शुक्रबार बिहान स्थानीयवासीले हरिणको शव देखेपछि वन कार्यालयलाई जानकारी गराएका थिए। सूचना प्राप्त भएपछि वन कार्यालय, पर्सा राष्ट्रिय निकुञ्ज तथा सुरक्षा निकायका प्रतिनिधिको संयुक्त टोली घटनास्थल पुगेको थियो।

स्थलगत निरीक्षणका क्रममा करिब डेढ वर्ष उमेरको पोथी हरिणको टाउको र पेटमा गोली लागेको घाउ देखिएको डिभिजन वन कार्यालयले जनाएको छ। घाउको प्रकृति अध्ययन गर्दा भरुवा बन्दुक प्रयोग गरी सिकार गरिएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। गोली लागेपछि हरिण केही दूरीसम्म दौडिएर घटनास्थल नजिकै ढलेको हुन सक्ने वन प्राविधिकहरूको भनाइ छ।

मृत हरिण निर्माणाधीन द्रुतमार्गको जीरो किलोमिटर क्षेत्र नजिक तथा द्रुतमार्ग सुरक्षार्थ तैनाथ नेपाली सेनाको ब्यारेकबाट करिब ३०० मिटर उत्तर–पश्चिम दिशामा फेला परेको थियो। उक्त क्षेत्र सामुदायिक वनसँगै पर्सा राष्ट्रिय निकुञ्जको प्रभाव क्षेत्रमा पर्ने भएकाले वन्यजन्तु सुरक्षाको दृष्टिले घटनालाई गम्भीर रूपमा लिइएको वन कार्यालयले जनाएको छ।

घटनास्थलको मुचुल्का तयार गरी आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि हरिणको शव डिभिजन वन कार्यालय बाराको परिसरमा व्यवस्थापन गरिएको छ। साथै घटनास्थलबाट प्राप्त प्रमाण र सूचनाका आधारमा सम्भावित संलग्न व्यक्तिको पहिचान गर्ने प्रयास भइरहेको जनाइएको छ।

डिभिजन वन कार्यालय बाराले वन्यजन्तुको अवैध सिकार वन तथा वन्यजन्तु संरक्षणसम्बन्धी प्रचलित कानुनअनुसार दण्डनीय अपराध भएकाले दोषी पहिचान भएपछि कानुनी कारबाही अघि बढाइने जनाएको छ। साथै स्थानीय बासिन्दालाई वन क्षेत्रमा हुने शंकास्पद गतिविधिबारे तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन पनि आग्रह गरिएको छ।

Leave a review